सात वर्षदेखि उत्तरी नाका अस्तव्यस्त, चीनका बिदेश यात्रा नेपाल उठाउछ कुरा
तातोपानी र रसुवागढीमा व्यवसायीका लागि अघोषित प्रतिबन्ध कायमै, आउजाउ बन्द, निर्यात ठप्प, पुराना नाका अलपत्र, नयाँ खोल्ने गृहकार्य
काठमाडौँ — चीनसँगको प्रमुख दुई व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात व्यापार पूर्ण रूपमा बन्द छ । नाकाबाट आउजाउ गर्नसमेत दिइएको छैन । चीनले नेपाली व्यवसायीलाई सामान अर्डर गर्न जान अनुमति नदिएको साढे दुई वर्ष बितेको छ । नाका बन्द हुँदा सयौं व्यवसायीले पेसा नै छाडेका छन् ।
चीनले भूकम्प, बाढीपहिरो र कोभिडका नाममा गरेको ‘नाकाबन्दी’ सरहकै व्यवहार नेपालले भोगेको सात वर्ष बितेको छ । चीनसँगको थप नाका सञ्चालन गर्ने विषय सधैं उठ्ने गरेको छ तर सञ्चालनमा रहेका दुई पुराना नाका नै व्यवस्थित र निरन्तर सञ्चालन हुन सकेका छैनन् । २०७२ मा भारतले नेपाललाई अघोषित नाकाबन्दी गर्दा पनि तातोपानी नाका बन्दको बन्दै रह्यो ।
नाकाबन्दीको झोंकमा भारतलाई काउन्टर दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मार्चमा चीनसँग पारवहन सम्झौता गरेका थिए तर त्यसका अधिकांश प्रावधान कार्यान्वयन भएका छैनन् । नयाँ नाका खुलाउने योजनाअनुसार सरकारले पूर्वाधारमा करोडौं रुपैयाँ खर्च गर्दै आएको छ तरतातोपानी र केरुङ नाकाबाट गरिने आयात व्यापारमा आंशिक र निर्यातमा लगाएको पूर्ण प्रतिबन्धलाई दुवै सरकारले सात वर्षदेखि देखेको नदेख्यै गरेको छ ।
यसबीचमा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरे । अहिले परराष्ट्रमन्त्री वाङ यी नेपालको दुईदिने भ्रमणमा शुक्रबार आएका छन् तर सात वर्षयता अघि सारिएका समस्या यथावत् छन् । नाकामा देखिएको अवरोधमात्र होइन, यसबाट सीमाको जनजीवनमा परेको असर पनि त्यत्तिकै कष्टकर छ । नाकाकै भरमा वर्षौंदेखि जीविका चलाउँदै आएकाहरू रोजगारीका लागि विदेश पलायन भएका छन् ।
आफूहरूलाई समस्या परेको भन्दै नेपालले चीनसँग नाका सञ्चालन सहज बनाउन पटक–पटक अनुरोध गरे पनि कार्यान्वयन हुन सकेन । चीनका लागि पूर्वराजदूत महेश मास्के हाम्रा राजनीतिक नेतृत्वको अस्पष्टता र उदासीनताका कारण विगतका सम्झौता कार्यान्वयन हुन नसकेको बताउँछन् । ‘कर्मचारीतन्त्र त्यत्तिकै निष्क्रिय छ,’ उनले भने, ‘उत्तरका दुई महत्त्वपूर्ण नाका तातोपानी र केरुङ व्यवस्थित गर्ने सन्दर्भमा पटक–पटक कुरा उठाए पनि परिस्थिति जस्ताको तस्तै छ ।’
तातोपानी र रसुवागढी नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रूपमा हेरिने गरेको छ तर चीनको व्यवहारकै कारण यी नाका सहयोगी बन्न सकेका छैनन् । पूर्वप्रधानमन्त्री ओलीको कार्यकालमा भएको व्यापार तथा पारवहन सम्झौतापछि आयात व्यापारका लागि दक्षिणको एकलौटी मनोमानी नरहने अनुमान गरिएको थियो तर व्यवहारमा कार्यान्वयन भएको छैन । पूर्वराजदूत मास्के भन्छन्, ‘पेट्रोलियम पदार्थ ल्याउन धेरै सजिलो हुने अपेक्षा गरेर पारवहन सम्झौता भए पनि कार्यान्वयन गर्न खोजिएन ।’
२०७२ मा भारतले अघोषित नाकाबन्दी गरेका बेला तातोपानी नाका लगातार चार वर्ष बन्द रह्यो । चीनले २०७६ सालमा मात्र तातोपानी सञ्चालनमा ल्यायो । कोभिडका बेला भारतबाट हुने आयात व्यापार अलि कति पनि रोकिएन तर चीनबाट हुने कारोबार कोभिडकै नाममा अहिलेसम्म सहज हुन सकेका छैनन् ।
नेपाल–चीन गैरआवासीय संघका पूर्वअध्यक्ष बलराम पराजुलीका अनुसार चीन जाने व्यापारी र अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई भिसा नदिएको साढे दुई वर्ष बितेको छ । उत्तरका दुवै नाकाबाट कुनै पनि नेपाली आउजाउ गर्न पाउँदैनन् । सामान आयातका लागि बर्सेनि सयौं व्यापारी चीन जाने गरेकामा अहिले उनीहरूले नेपालबाटै अर्डर गरेर व्यापार गरिरहेका छन् । अर्कातर्फ उत्तरी स्थलमार्गबाट हुने व्यापारिक कारोबार भरपर्दो र विश्वासिलो नभएपछि अहिले तातोपानी र रसुवागढी नाकाबाट हुने आयात ह्वात्तै घटेको छ । चीनले खासामा नेपालीलाई मात्र होइन, आफ्ना नागरिकलाई पनि राखेको छैन । त्यहाँका बासिन्दालाई तिब्बतको सिगात्सेमा सारिएको छ ।
उत्तरी नाकाका व्यापारीको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार उत्तरी नाकाप्रतिको विश्वास घट्दै गएपछि व्यापारीहरू तातोपानी र रसुवागढीबाट आयात गर्न हिच्किचाइरहेका छन् । विदेशमन्त्री वाङ नेपाल आउने भएपछि सीमापारले व्यापार सहजीकरण गर्न सरोकार राख्ने सबै मन्त्रालयलाई जानकारी पत्र दिएको छ । हाम्रो मुख्य माग व्यापार सहजीकरण हो,’ श्रेष्ठले भने, समस्या नेपालको होइन, चीनकै हो ।’ उनले व्यवसायीहरू बितेका सात वर्ष ज्ञापनपत्र र लिखित सुझाव दिँदादिँदै बितेको बताए ।
चौबीसै घण्टा व्यस्त हुने उत्तरी नाकाबाट आजभोलि बल्ल–बल्ल दैनिक १५–२० कन्टेनर सामान आयात हुने गरेको छ । तातोपानी नाकामा चीनले नै बनाइदिएको सुक्खा बन्दरगाह छ । तीन सय कन्टेनर अटाउने पार्किङ खाली रहेको छ । जुत्ता, तयारी पोसाक, मखमल कपडा, खेलौना, इलेक्ट्रोनिक र स्टेसनरीका सामान, कम्प्युटर पार्टस्, हार्डवेयरका सामान, कस्मेटिक सामानलगायत नेपालका उपभोक्ताले प्रयोग गर्ने लगभग सबैजसो सामान चीनबाट आउने गरेको छ । तर आजभोलि त्यस्ता सामग्री दुई महिना लगाएर समुद्रको बाटो भएर ल्याउने गरिएको छ ।
उत्तरी नाका भने स्याउ, लसुन, जलविद्युत् कम्पनीका मेसिन, रासायनिक मल, कोभिड नियन्त्रणमा प्रयोग हुने मेडिकल सामान ल्याउने नाकाका रूपमा सीमित हुँदै गएको छ । नेपालले २०७२ सालसम्म तातोपानी नाका भएर बर्सेनि साढे दुई अर्बको निर्यात व्यापार गर्दै आएको थियो । आयात करिब २० अर्बको भएको तथ्यांकबाट देखिन्छ । तर भूकम्पपछि निर्यातमा दुवै नाकाबाट पूर्ण रूपमा बन्देज लगाइएको छ । नेपालबाट तामाका भाँडा, जडिबुटी, मैदा, घिउ, हस्तकलाका सामान, याकलाई खुवाउने घाँस, चाउचाउ, अण्डालगायतका वस्तु निर्यात हुने गरेको थियो । निर्यातमा संलग्न व्यवसायी किशोर बस्नेतका अनुसार अहिले हात बाँधेर बस्नुपर्ने अवस्थामा छन् । ‘निर्यात कहिले खुला होला भन्नेमा छौं,’ उनले भने ।
तातोपानी नाकाका व्यवसायी नीपै अधिकारीका अनुसार उत्तरी सीमाबाट सामान आउने/नआउने अनिश्चित भएको बताउँछन् । भूकम्प र कोभिडका नाममा खरिद गरेको सामान दुई वर्षसम्म चीनको गोदाममा थन्केका कारण कतिपय व्यवसायी आर्थिक रूपमा धराशायी भएर व्यवसायबाटै पलायन भएको उनी सुनाउँछन् । नाका कति बेला के कारण खुल्छ, कति बेला के कारणले बन्द हुन्छ, बुझ्न नसकिने भनाइ व्यवसायीको छ । महँगो भाडा र लामो समय लगाएर भए पनि चिनियाँ सामान ल्याउन दक्षिणी नाका रोज्नुपर्ने बाध्यता भएको उनले बताए ।
नाका बन्द भएका कारण सयौं कन्टेनर व्यवसायी पलायन भए भने बैंकको ब्याज तिर्न नसकेर कन्टेनर लिलाम भएका छन् ।सीमा क्षेत्र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल नाका बन्द भएका कारण जीविकोपार्जनमै समस्या भएको बताउँछन् । ‘सीमा क्षेत्र खासा र हाम्रो वर्षौंदेखिको सम्बन्ध टुटेको छ,’ पौडेलले भने, ‘कतिपय त गाउँ नै छाडेर कामको खोजीमा अन्यत्र लागेका छन् ।’ ईकान्तिपुर