- बीरगंज ।२०७९-०१-१५ राजनीतिक दल र आम जनसमुदायको ध्यान यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनावतर्फ केन्द्रित छ । गएको चैत २५ गतेबाट आचारसंहिता लागू पनि भइसकेको छ ।
आचारसंहिता लागेको र चुनावको समय भएकाले चेकजाँच, निगरानी बढाउनुको साथै सीमानाकामा कडाई हुने गर्छ । चुनावको बेलामा शान्ति सुरक्षामा बिघ्नबाधा पुर्याउन सक्ने भएकाले सीमा नाका थप कडाई गरिन्छ । कसैले चुनावी महौल बिगार्न हातहतियार प्रवेश गराउन सक्ने भएकाले प्रहरी सतर्क रहनुपर्छ । तर त्यसको ठीक बिपरीत कमाउधन्दाको लागि पर्साका केही बीओपी इन्चार्जदेखि गणपतिले समेत सेटिङमा तस्करीको लाइन खुलाएका छन् ।
सशस्त्र प्रहरी वीरगंज गणका एसपी तेज पोखरेलले परिचालन गरेका सई प्रकाशसिंह ठकुरी, हवल्दार अमृत दुबे र वरिष्ठ हवल्दार प्रमोद बैठा लगायत तीनै जना घुमुवाहरुले तस्करसँग सेटिङ मिलाउने र लाभ लिने गरेका छन् । तस्करसँग संकलन गरेको लाभको हिस्सा गणपतिसम्म उक्त घुमुवाहरुले नै पुर्याउने काम गर्दै आएका छन् ।
डीआईजी चन्द्रप्रकाश गौतमको पालामा बैठा भिखमपुर बीओपीको घुमुवा बसेर तस्करी गराएको आरोपमा तानिएका विवादितहरु अहिले गणका घुमुवाको रूपमा परिचालन गरिएका छन् । अहिले वीरगंज महानगरमा पर्ने इनर्वा गाउँ, इनर्वा मुख्य भन्सार नाका, भकुवा, छपकैया, सिर्सिया ड्राइपोर्ट लगायतका नाकाबाट ब्यापकमात्रामा तस्करी चलिरहेको छ । यस नाकामा वीरगंज बीओपी भन्सार, शिक्षा अफिस बीओपी र ड्राइपोर्ट बीओपी गरी तीन वटा बीओपी छन् ।
वीरगंज बीओपी भन्सारका इन्चार्ज सुवर्ण बम छन् भने शिक्षा अफिस बीओपीका इन्चार्ज अगम राई र ड्राइपोर्ट बीओपी इन्चार्जमा सम्राट भण्डारी रहेका छन् । इनर्वा मुख्य भन्सार नाकाबाट सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमसँग सेटिङ गरी मुख्तारले कपडाको लाइन पाएका छन् ।
यस्तै छपकैया नाकाबाट शिक्षा अफिस बीओपी इन्चार्ज सप्रनि अगम राईले मोटो रकम बुझी अनिल साह र गिरी समूह र काली समूहले कपडाको लाइन पाएका छन् । विवेक, रञ्जित, सुकेशले कपडाका अलावा जुत्ता चपलको लाइन पाएका छन् । मञ्जु पटेललाई भेटनरी, मोबाइल तथा कम्प्यूटर पाट्र्स र हार्डवेयर अवैध रुपमा ल्याउन छुट दिइएको छ ।
यस्तै छपकैयाबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा हरेन्द्र पटेल, धुरेन्द्र, दिनेश, वकिल, झुनझुन, माष्टर, इस्लाम, बबन, सलमान, ललिता, अम्बे, बक्सिस, इन्दु, मन्जु समूह, राम्बा समूह, बेचु समूह, शिला समूह र मिला समूह रहेका छन् । छपकैयाबाट तस्करीको लाइन पाएका पशुपति यादवले भारतबाट काजु र रेडबुल भन्सारछली गरी ल्याउने गरेका छन् ।
यस्तै ड्राइपोर्ट सिर्सिया नाकाबाट ड्राइपोर्ट बीओपी इन्चार्ज स.प्र.नि. सम्राट भण्डारीले कपडाको तस्करी गर्न बिशाललाई लाइन दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक अगम राईले घुस उठाउन बीओपीका कोटमास्टरको काम गर्ने सहायक हवल्दार शम्भु बैठालाई घुमुवा परिचालन गरेका छन् । शिक्षा अफिस बीओपीका जवानले समातेका कपडा इन्स्पेक्टर अगम राईले छोडेको प्रमाण नेपालफेसकर्मीले फेलापारेका छन् ।
सुदर्शन उर्फ गिरी नामबाट परिचित भन्सार छलीको सामान वारपार गराउने लाइन पाएका छन् । सशस्त्रका इन्स्पेक्टर अगम राईले तिनै गिरीसँग घुस लिने गरेको आरोप छ । गिरी समूहका मजदुरले उनको नाम बिर्सेर अर्को नाम सुदर्शन बताएपछि सशस्त्रका जवानहरुले बरामद गरी बीओपीमा ल्याएका थिए । तर उक्त सामान गिरीको हो भन्ने इन्स्पेक्टर राईले थाहा पाएपछि गिरीलाई टेम्पु ल्याऊ र भित्र हालेर लुकाएर लैजाऊ भनी सल्लाह दिएको बिषय बाहिर आएको छ । गिरीले टेम्पु ल्याएपछि इन्स्पेक्टर राईले छोडेको प्रमाण फेला परेको छ । उक्त नाकाबाट तस्करी हुने सामानहरूमा कपडा बढी मात्रामा तस्करी हुने गरेको छ । तस्करहरुले बीओपी प्रमुख, गणपतिदेखि बाहिनीपतिसम्मलाई नजराना बुझाएका कारण प्रहरीकै अगाडिबाट चोरी तस्करी भन्सार छलीका सामानहरु ओहोरदोहोर गरिरहेको भएता पनि प्रहरी भने मूकदर्शक बनेको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी छाड्ने, नेपाल प्रहरी बरामद गर्ने
सशस्त्र प्रहरीले सेटिङमा भन्सार छली तस्करी गराएका मालसमानहरू नेपाल प्रहरीले बरामद गर्दै राजस्व अनुसन्धानमा बुझाएका घटनाले पनि सीमाबाट खुलेआम तस्करी हुने गरेको पुष्टि गर्दछ । नेपाल प्रहरीले २०७९ बैशाख १० गते वीरगञ्ज महानगरपालिका वडा नं. १० घण्टाघर सडकखण्डमा बा.२ ख ३४३५ नम्बरको ट्रक नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । जुन ट्रकमा बिल विजक भन्दा बढी बिभिन्न किसिमका मसाला, लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू बरामद भएको थियो ।
राजश्व छली पैठारी गरी जनकपुरतर्फ लाँदै गरेको उक्त ट्रक रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला परेका थिए । उक्त ट्रक नियन्त्रणमा लिई रू तीस लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीका बैशाख ११ मा राजस्वमा बुझाइएको थियो ।
सशस्त्र प्रहरीले सेटिङमा भन्सार छली गरी भित्रिएका सामान जनकपुरतर्फ लाँदै गरेको अर्को ट्रक पनि बीरगंजको घन्टाघरबाटै बरामद गरेको छ । बिलबिजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू राजस्व छली पैठारी गरी जनकपुरतर्फ लाँदै गरेको ना.३ ख. ३१३ नम्बरको ट्रक पनि प्रहरीले २०७९ बैशाख ९ गते वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर सडकखण्डमा बरामद गरेको हो ।
प्रहरीले चेक जाँच गर्दा विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई ५० लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।