चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं छाडेकी हुन्
काठमाण्डौ, २६ असार – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी काठमाडौंबाट गायब भएकी छन् । उनी करिब डेढ महिनादेखि काठमाडौंमा नरहेको पाइएको छ ।
चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं छाडेकी हुन् । उनी हाल बेइजिङमा रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
यान्छीको घमण्ड र अहंकारी व्यवहारले नेपालमा चीन चौतर्फी रुपमा असफल भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आफैं नेपाली कांग्रेस र सत्ता गठबन्धनसँग सम्बन्ध सुधारका लागि प्रयासरत छन् ।
केपी ओली नेकपाको सरकार हुँदा राजदूत यान्छीको काठमाडौंमा रजगज थियो । उनले कम्युनिस्ट नेताहरुलाई थर्काउने र परिचालन गर्ने गरेकी थिइन् । तर यान्छीले एकपटक ओलीलाई प्रधानमन्त्री पद छोड्न भनेपछि बालुवाटार प्रवेशमै प्रतिबन्ध लागेको थियो ।
यान्छीका यस्ता हस्तक्षेपकारी व्यवहारले नेपालमा चीनको भूमिका कमजोर र खुम्चिन पुगेको छ । झन् एमसीसी प्रकरणान यान्छी नराम्रोसँग असफल भइन् । चीनले लामो समयदेखि दबाब दिएर संसदबाट पास हुन नदिएको एमसीसी पारित भएपछि यान्छी कुटनीतिक रुपमा असक्षम भएको र फिर्ता बोलाउने भनेर बेइजिङमा समीक्षा बैठक नै भएको थियो ।
काठमाडौंमा चौतर्फी असफलता र निराशाले राजदूत यान्छी कुनै सुइको नदिएर सुटुक्क बेइजिङ पुगेर बसिरहेकी छन् ।
सुन्दरी राजदूत यान्छीको डान्सदेखि अन्य कुटनीति असफलताले बेइजिङ चिन्तित रहेको जानकारहरु बताउँछन् । अहिले सीपीसीको विदेश विभागले नै सम्बन्ध सुधारको प्रयास गर्दा नयाँ राजदूत कसलाई पठाउने भन्नेमा पनि बेइजिङका लागि पेचिलो विषय बनेको छ ।
नेपालमा अमेरिका र भारतको दबदबा बढेको र त्यसलाई कसरी सन्तुलनमा ल्याएर आफ्नो भूमिका बढाउने भन्नेमा बेइजिङका कुटनीतिज्ञहरु जोडघटाउमा रहेको बताइन्छ ।
यसपालि अचम्मको कुरा त के भयो चिनियाँ राजदूतले काठमाडौं छोडेको महिना वितिसक्दा कुनै चर्चा छैन । जबकी अमेरिका र भारतका राजदूतले एक दिन काठमाडौं छाड्दा ठूलो चर्चाको विषय बन्ने गरेको छ । तर भूमिकामा खुम्चिएको चिनियाँ राजदूतको काठमाडौंबाट दुखद बहिर्गमनको कुनै चर्चा छैन । (एजेन्सी)