काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ।
काठमाडौंमा दुई दिन चलेको केन्द्रीय समिति बैठकले जसपा पुनर्गठन गर्ने निर्णय गरेको हो।
पार्टी पुनर्गठनबारे आवश्यक निर्णय गर्ने अधिकार बैठकले कार्यकारिणी सदस्यहरूलाई दिएको छ।
छुट्टै बैठक राखेर पार्टी अनुशासनविपरित हिँडेका भन्दै अध्यक्ष उपेन्द्र यादवले कारबाहीको तयारी गरिरहेको बेला भट्टराई पक्षको बठकले पार्टी पुनर्गठन निर्णय गरेको हो।
बुधबारदेखि वीरगञ्जमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले भट्टराईलगायतका नेतालाई कारबाही गर्ने संकेत गरेका थिए। कारबाहीबारे बिहीबार बस्ने बैठकमा निर्णय हुने उनले बताएका थिए।
यता बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भट्टराईले उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न नसक्ने भएकाले जोखिमपूर्ण कदम उठाउन बाध्य भएको बताए।
अध्यक्ष यादवकै कारण आफूहरू अलग हुनुपरेको उनको भनाइ थियो। ‘उहाँकै कारण हामी अलग हुुनुपरेको हो, यसलाई पार्टी फुटेको भन्न मिल्दैन। हामी वैकल्पि शक्ति निर्माण गर्ने दिशामा अगाडि बढेका छौं। पार्टी पुनर्गठन गर्न जाँदैछौं,’ भट्टराईले भने।
पार्टी पुनर्गठनको दिशामा अगाडि बढेको बताएका उनले समाजवादी केन्द्रको सम्भावना भने जीवितै रहेको जिकिर गरे।
‘आवश्यक्ताअनुसार एकता र ध्रुवीकरणको ढोका खुला रहन्छ,’ उनले भने,‘पुराना दलहरू रूपान्तरण भएर आए अहिले पनि समाजवादी केन्द्रको सम्भावना छँदैछ।’
भट्टराईले पुनर्गठित पार्टी प्रदेससभा र प्रतिनिधिसभा चुनावमा मधेसको प्रमुख शक्ति बन्ने दाबी गरेका छन्।
उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेलको संकेत गरेका छन्। भट्टराईले भने,‘लोसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग तालमेल हुनसक्छ। कतै एमाले, कतै कांग्रेस त कतै माओवादीसँग तालमेल हुनसक्छ।’
अधिकार बाँडफाँडलाई लिएर जसपामा सुरू भएको विवाद दुवै पक्षले समानान्तर बैठक राखेपछि छताछुल्ल भएको छ। समावेशी र सामूहिक नेतृत्वको पक्षमा भट्टराईले जोड दिन थालेपछि अध्यक्ष यादवसँगको विवाद उत्कर्षमा पुगेको थियो।
भट्टराईले केही दिनअघि अध्यक्ष यादवलाई भेटेर विवाद नगरी सहमतिमै अलग हुने प्रस्ताव राखेका थिए।
भट्टराईले यस्तो प्रस्ताव राखेको केही दिन नबित्दै अध्यक्ष यादवले कार्यकारिणी सदस्यहरूको बैठक राखेर मन्त्री हेरफेर गर्ने अधिकार आफूमा निहीत गर्न लगाएका थिए।