Online News Portal

कलैया उपमाहानगरपालिका बजार उचित व्यवस्थापन नहुँदा कलैया बजार अस्त व्यस्त

548

 

कलैया (बारा), ३ भदौ ।
कलैया बजार उचित व्यवस्थापन नहुँदा अस्त व्यस्त बन्दै गएको छ । कलैयाको मुख्य बजारमा जथाभावी पार्किङ्ग, फुटपाथमा व्यापार जस्ता कार्यहरुले गर्दा कलैया बजार अस्त व्यस्त बन्दै गएको हो । कलैयाको घण्टाघर स्थित भारतचोक देखि नगरपालिका जाने बाटोमा जथाभावी ठूला तथा साना सवारीहरु पार्किङ्ग गर्ने गरिएको कारण पनि बजार अस्त व्यस्त बन्दै गएको स्थानीयहरुको गुनासो छ ।
वीरगंजदेखि कलैया जाने बाटोमा भरतचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मको जथाभावी पार्किङ्ग, जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालय अगाडि मुख्य सडकमा जथाभावी पार्किङ्ग एवं फुटपाथ व्यावसायले गर्दा दिनुहँ ट्राफिक जामको समस्या हुने गरेको छ भने घण्टाघरदेखि बरियारपुरजाने रोडमा फुटपाथ व्यवसाय, ठेलामा व्यवसाय तथा जथाभावी पार्किङ्गले बजार अस्त व्यस्त बन्दै गएको स्थानीयहरुको गुनासो छ ।
त्यसैगरि मालपोत कार्यालय अगाडि, देवकोटा चोक लगायतका अन्य सरकारी अड्डाहरुको अगाडि जथाभावी पार्किङ्गले दिनहुँ जामको समस्या हुने गरेको छ भने एम्बुलेन्स लगायत इमर्जेन्सी आवागमन गर्नेहरुलाई समस्या हुने गरेको बताइएको छ । बजार अस्त व्यस्तलाई न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी पनि खटाइएको छ तर ट्राफिक प्रहरी कलैया वीरगंज सडकमा मात्रै चेकजाँच गर्ने गरेको कारण अन्य स्थानमा ट्राफिक जामको समस्या यथावत नै रहेको छ ।
यतातिर बजार व्यवस्थित बनाउनका लागि कलैया उपमहानगरपालिकाका नगर प्रहरीहरु पनि परिचालित छन् तिनीहरु पनि इमान्दारितापूर्वक ड्युटी नगरेको कारण दिनुहँ बजार अस्त व्यस्त बन्ने गरेको हो । नगर प्रहरीहरु बजार व्यवस्थित गर्न ड्युटीमा खट्नुभन्दा पनि फुटपाथमा रहेको व्यवसायीहरुसँग कसरी असुल्न सकिन्छ भन्ने मनसायले ड्युटी गर्ने गरेको कारण फुटपाथ अतिक्रमण गरि व्यावसाय गर्नेहरुको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको हो ।
बजारलाई व्यवस्थित गर्ने निकाय कलैया उपमहानगरपालिका पनि कानमा तेल हालेर बसेको छ । कलैया उपमहानगरपालिकाले बजारलाई व्यवस्थित गर्नुभन्दा पनि चम्चाहरु परिचालन गरेर अनावश्यक प्रचारवाजी गराउने गरेको कारण पनि यस्तो समस्या देखा परेको स्थानीयहरुको भनाई छ । कलैया नामको लागि मात्रै उपमहानगरपालिकामा स्तरोन्नति भएको तर यहाँका नागरिकहरुले नगरपालिका सरहको पनि सेवा सुविधा नपाएको स्थानीयहरुको गुनासो छ ।
कलैया बजारको विभिन्न ठाउँमा जथाभावी फोहरहरु फालिएका छन् । विभिन्न चोकको कुना कप्चामा फोहरको डुँगुर थुप्रिएको छ । फुटपाथ अतिक्रमण गरि व्यापार गर्नेहरुको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको छ तर सम्बन्धित निकाय उपमहानगरपालिका कुनै पनि चासो देखाएको छैन । फोहरले नगर नै दुर्गन्धित भएको छ भने फुटपाथ व्यवसायले बजार अस्तव्यस्त बन्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.