नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग
नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । समाजमा नकारात्मक असर पुर्याएको भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् ।
टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल हो । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको छ । यसको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए । यसको आधिकारिक प्रयोग सन् २०१७ मा आइओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो।
छोटा भिडियो क्लिपमा लिपसिङ गरेर वा आफै स्वर भरेर भिडियो बनाउनका लागि टिकटक प्रख्यात छ । यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू भागहरूमा लोकप्रिय छ । यद्यपी टिकटक बनाउने देश चीनमा भने यसको उपलब्धता छैन ।
टिकटकमा अश्लिलता फैलाएको भन्दै ‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको पाइएको छ । आइतबार रौतहटबाट केही युवाले यो संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् ।