प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता चल्दै
काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भइरहेको छ । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता भइरहेको हो ।
सबै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ र प्रादेशिक कार्यालयहरुबाट मनोनयन दर्तामा आवश्यक सहजीकरण मात्रै हुने स्पष्ट पार्नुभएको हो ।
केही दिनयता अविरल वर्षा, बाढीपहिरो लगायत विपद्का कारण कतिपय ठाउँमा आवतजावतमा कठिनाइ हुने भएकाले दलहरुलाई मनोनयन दर्तामा आयोगले सहजीकरण गर्न लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मनोनयन दर्ताको लागि चाहिने औपचारिक पत्र लगायतका अत्यावश्यक कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाइदिने काम मात्रै गर्न सक्ने उज्यालाेलाई बताउनु भएकाे हाे ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा धेरै निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी तयारी अवस्थामा रहेको आयोगले जनाएको छ । आयोगले मनोनयन पत्रका साथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, आयोगले आजै समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक गरेको हो ।
बन्दसूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६१ जना, मधेस प्रदेशमा ९ सय ४८, वाग्मतीमा ८ सय २५, गण्डकी प्रदेशमा ३ सय ६८, लुम्बिनीमा ६ सय ५७, कर्णालीमा २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७६ जनाको नाम बन्दसूचीमा रहेको जनाएको छ ।
प्रदेश सभासहित बन्दसूचीमा रहने उम्मेदवारको सङ्ख्या ६ हजार ४ सय ९३ जना रहेको छ ।
कागजात के-के चाहिन्छ ?
आयोगले मनोनयन पत्रकासाथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार, मनोनयन पत्रकासाथ उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, प्रतिनिधि सभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सासमेत संलग्न हुनुपर्ने आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेश सभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा त्यस धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।
यस्तै, आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ । आफू प्रचलित नियम कानुनअनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारमसमेत संलग्न हुनुपर्नेछ ।