Online News Portal

मधेस प्रदेशमा जसपा र लोसपाबीच पाँच सिटमा प्रतिस्पर्धा

165

गत २०७४ को चुनावमा गठबन्धन गरेर  निर्वाचनमा भाग लिएको जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल यसपटक अलग–अलग चुनाव लड्दैछन् ।

जसपा एमालेसँग चुनावी तालमेल गरेको छ भने लोसपाले काँग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ । दुवै दलले देशभर भने तालमेल गरेका छैनन् । जसपा र लोसपाले एमाले र काँग्रेससँग मधेस प्रदेशमा केन्द्रित रहेर मात्र तालमेल गरेका छन् । बाँकी क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा हुनेछ ।

जसपाले एमालेसँग चुनावी गठबन्धन गरेर मधेस प्रदेशमा १४ वटा सिटमा प्रतिस्पर्धा गर्दैछ भने लोसपाले आठवटा सिटमा प्रतिस्पर्धा गर्दैछ । मधेस प्रदेशमा दुवै दलको बीचमा पाँचवटा सिटमा प्रतिस्पर्धा हुँदैछ । सप्तरी २ मा उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् भने लोसपाले त्यहाँ जेपी ठाकुरलाई उम्मेदवार बनाएको छ । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम (जसपा) र राजपा (लोसपा) बीच तालमेल थियो तैपनि जेपी ठाकुरले उपेन्द्र यादवको विरुद्ध उम्मेदवारी दिएका थिए । त्यसपछि राजपाले ठाकुरलाई कारबाही पनि गरेको थियो । यसपटक लोसपाले नै उपेन्द्र यादवको विरुद्ध ठाकुरलाई उम्मेदवार बनाएको छ ।

महोत्तरी ३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुरले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छन् । अध्यक्ष ठाकुरको विरुद्धमा जसपाले हरिनारायण यादवलाई एमाले–गठबन्धनबाट उम्मेदवार बनाएको छ । गत २०७४ को चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि महन्थ ठाकुरलाई सघाएका थिए तर यसपटक एक अर्काको विरुद्ध उम्मेदवारी दिन लगाएका छन् ।

सर्लाही १ मा जसपाबाट प्रमोद साहले (जसपा–एमाले गठबन्धन) उम्मेदवारी दिएका छन् । प्रमोद साहको विरुद्धमा सत्ता गठबन्धनका रामप्रकाश चौधरीले उम्मेदवारी दिएका छन् । बारा ३ मा जसपाका रामबाबु यादवले जसपा–एमाले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । त्यसको विरुद्धमा लोसपाका लालबाबु सिंहले एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । लालबाबु सिंह काँग्रेसबाट जसपामा आएका हुन् । उनी २०७४ मा काँग्रेसको तर्फबाट चुनाव लडेका थिए ।

सिंह अन्तिम समयमा लोसपाबाट उम्मेदवारी दिन तयार भएका हुन् । यसअघि जसपाका नेता प्रमोद गुप्ताले लोसपाबाट उम्मेदवारी दिने घोषणा गरेका थिए तर उनी अन्तिम समयमा उम्मेदवारी दिन तयार भएनन् । त्यसपछि लोसपाले लालबाबु सिंहलाई उम्मेदवारी दिन लगाएको हो । जसपाका रामबाबु यादव यसअघि पनि त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।

लोसपाले पर्सा–१ मा सत्ता गठबन्धनको तर्फबाट लोसपाले कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा जसपाले एमाले–जसपा गठबन्धनबाट प्रदीप यादवलाई उम्मेदवारी दिन लगाएको छ । लोसपाका नेता कर्ण यसअघि पर्सा–४ बाट चुनाव जितेका थिए । यसपटक सत्ता गठबन्धनमा सो क्षेत्र काँग्रेसको भागमा परेपछि लक्ष्मणलाल कर्ण पर्सा–१ बाट चुनाव लड्ने भएका हुन् । जसपाका नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव २०७४ को चुनावमा पर्सा १ बाट जितेका थिए । रातोपाटि

Leave A Reply

Your email address will not be published.