Online News Portal

अब उपेन्द्र यादवका मन्त्रीलाई हटाउने तयारी

213

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।
जसपाबाट मन्त्री भएकाहरूलाई हटाउने बारे प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा पनि छन् । उनले सोमबार नै मुख्य सचिवलाई आवश्यक कानुनी प्रक्रिया बुझन निर्देशन दिएका थिए । जसपाका मन्त्रीहरूलाई बुधबार भित्र हटाउने प्रधानमन्त्रीको तयारी छ । जसपाले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरी उम्मेदवारी दिएसँगै उसका मन्त्रीहरूलाई हटाउन लागिएको हो ।
सत्ता गठबन्धनले भन्दा एमालेले बढी सिट दिने भएपछि जसपाले एमालेसँग तालमेल गरेको हो । एमालेले जसपालाई प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ४२ सिट दिने सहमतिअनुसार नै उम्मेदवारी परिसकेको छ । सत्ता गठबन्धनले भने जसपालाई १४ सिटको प्रस्ताव गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाले प्रदेशसभातर्फ प्रदेश १ मा ३५, मधेसमा ३५, वाग्मतीमा २३, गण्डकीमा १५, लुम्बिनीमा १९, कर्णालीमा ५, सुदूरपश्चिममा २ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रतिनिधिसभातर्फ ८१ निर्वाचन क्षेत्रमा उम्मेदवारी परेको छ ।
‘सकभर ती मन्त्रीहरूलाई बर्खास्त गर्ने तर निर्वाचन आयोगले हटाउन हुँदैन भन्यो भने बर्खास्त नगरेर बिना विभागीय मन्त्रीमा झार्ने प्रधानमन्त्रीको तयारी छ’, कांग्रेस निकट एक नेताले भने । यसै विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले मंगलबार दिउँसो सत्तारुढ गठबन्धन दलका नेताहरुसँग छलफल गर्दैछन् ।
जनता समाजवादी पार्टीबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रोजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरे पनि यी मन्त्रीहरु भने सरकारमै रहेका छन् । निर्वाचन आचारसंहिता अनुसार यी मन्त्री हटाइए पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न सक्ने छैनन् ।

Leave A Reply

Your email address will not be published.