गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो
भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनुभएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मतसम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।