Online News Portal

सीताराम विवाहपञ्चमीमा उत्तराखण्डका पर्यटन मन्त्री जनकपुरधाम आउने

269

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शन पूजा गरेपछि भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाह महोत्सवको प्रमुख आतिथ्य गरेका थिए । केदारनाथ, बद्रीनाथ लगायतका हिन्दूहरुको आराध्य देवस्थलहरु रहेको उत्तराखण्ड सरकारमा सतपाल महराज मुख्यमन्त्री पछिको दोस्रो वरियतामा रहेका छन् ।भारतीय जनता पार्टीको केन्द्रीय सदस्य समेत रहेका सन्त सतपाल महराज मंसिर १२ गते आयोजना हुने विवाहमहोत्सवको मुख्य समारोहमा सहभागी हुने उनका सहयोगी नवीन कोइरालाले जनाए । योग ऋषि स्वामी रामदेव महाराजको पतञ्जली योगपीठ रहेको पवित्र तीर्थस्थल हरिद्वार समेत रहेको उत्तराखण्ड सरकारमा सतपाल महराजले झण्डै १० वटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सतपाल महाराजले उत्तराखण्डको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । सांसद र केन्द्रीय मन्त्रीका रूपमा उनले तत्कालीन प्रधानमन्त्री एचडी देवेगौडा र आईके गुजरालसँग काम गरे । गुजरात र पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुलाई उत्तराखण्डलाई छुट्टै राज्य बनाउन दबाब पनि दिएका थिए । सन् २०१७ मा उनी उत्तराखण्ड विधान सभा निर्वाचनमा चौबत्ताखाल निर्वाचन क्षेत्रबाट विधायकको रूपमा निर्वाचित भएका थिए । सन् २०१४ सम्म, सतपाल महाराज मानव उत्थान सेवा समितिका प्रमुख थिए र उनले “ज्ञान“ नामक ध्यान प्रविधि सिकाउने काम पनि गरेका थिए । यस आन्दोलन अन्तर्गत, विश्वका धेरै ठाउँका विद्यार्थीहरू आश्रमसँग जोडिएका थिए । जसको प्रधान कार्यालय भारतमा छ । यसले लाखौं सदस्यहरूलाई आकर्षित गरेको दाबी गरिएको छ । मन्त्री सतपाल महराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा मद्दत मिल्ने छ । हाल मधेश प्रदेशको मुख्यमन्त्री मुस्लिम धर्मावलम्बी रहेकाले भारतबाट आउने हिन्दू धर्मस्थलका मुख्यमन्त्री, मन्त्री, प्रधानमन्त्रीलाई स्वागत गरेपनि ‘काउण्टर’ धार्मिक भ्रमण मधेश प्रदेशबाट हुन सकेको छैन् ।

सीताराम विवाहमहोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने गरेको छ ।महोत्सवमा जनसहभागिता व्यापक रहने भएकाले त्यसको व्यवस्थापनमा स्थानीय निकाय, प्रदेश सरकार र सामाजिक संघसंस्थाहरु जुट्नुपर्ने रामानन्दीय वैष्णव संघका महासचिव महन्थ नवलकिशोर दासले जनाए । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी मंसिर पहिलो सातादेखि सुरु हुने भएको छ । मंसिर ७ गते जनकपुरधाम नगर दर्शन गरी विवाहपञ्चमी विधिवत रुपमा सुरु हुने छ । यस वर्ष मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला र तेस्रो दिन ९ गते धनुषयज्ञ हुने समय तालिका राखिएको छ । तिलकोत्सव १० गते, मटकोर ११ गते, स्वयंवर १२ गते र रामकलेवा १३ गते गरी सीताराम विवाहपञ्चमी सम्पन्न हुने छन् । अयोध्या नरेशका छोरा राम र मिथिला नरेशकी छोरी सीताबीच त्रेतायुगमा गा“सिएको वैवाहिक सम्बन्धलाई महत्वदिँदै जनकपुरधाममा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । यस वर्ष पनि धुमधामका साथ विवाहपञ्चमी मनाउने तयारी सुरु गरिएको छ । अतिथि आमन्त्रण तथा भारतबाट जयन्तीलाई निम्तियाउने कार्य भइरहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए । भन्सारसँग पनि विवाहपञ्चमीमा आउने श्रद्धालुहरुलाई सहज रुपमा आउन दिन मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले अनुरोध गरेका छन् । शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग पनि उनले छलफल जारी रहेको बताउँदै सुरक्षा र सवारी व्यवस्थापनका लागि सुरक्षा निकायलाई उनले आग्रह गरेका छन् । वैवाहिक कार्यक्रमका लागि दुबै पक्षले छुट्टाछुट्टै तयारी गर्न थालेका छन् । वैवाहिक महोत्सवका लागि जानकी मन्दिर क्षेत्रलाई बेहुली झैं सिँगारिनेछ । नेपालको हिन्दू पर्यटन प्रबद्र्धनका लागि सीताराम विवाहमहोत्सव अत्यन्त महत्वपूर्ण भएपनि संघीय सरकारले पूर्ण रुपमा उपेक्षा गरेको छ ।जनकपुरटुडे

Leave A Reply

Your email address will not be published.