Online News Portal

भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री उप्रेती सहभागी हुने

153

भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती आफैं सहभागी हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रकाश पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणमा उप्रेतीसहितको टोलीले भारत भ्रमण गर्न लागेको बताए ।
बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गर्दैछ । सोमबारदेखि पाँच दिनसम्म हुने कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डययन सामाग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरु सहभागी हुँदैछन् ।

तर, नेपालबाट चाहिँ रक्षामन्त्री उप्रेती स्वयम् उपस्थित हुन लागेका हुन् । जबकि, यसमा प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी हुने छैनन् । रक्षामन्त्री आफैं भारत जाने भएपछि जंगीअड्डाले बलाधिकृत रथी सरोजप्रताप राणालाई पठाउने निर्णय गरेको छ । राणा प्रधानसेनापतिपछि दोस्रो वरियताका सैन्य अधिकारी हुन् ।
एसियाको सबैभन्दा ठूलो हवाई प्रदर्शनी भनिँदै आएको यो कार्यक्रम १९९६ बाट हुँदै आएको छ । त्यसयता १३ औं संस्करणसम्म यो कार्यक्रम भइसकेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रममा ६९९ भारतीय र ११० विदेशी प्रदर्शकहरु उपस्थित हुने भनिएको छ ।

प्रदर्शनी अन्तरगत सोमबार एरोस्पेश र सैन्य सामाग्री उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुबीच राउण्ड टेबल छलफल हुनेछ । छलफल ‘आकाश सीमा होइन ः सीमाहरु बाहिरका अवसरहरु’ शीर्षकमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.