चीनको युद्धकालीन सैन्य भर्ती ‘ ताइवानविरुद्ध लडाइँको तयारी
काठमाडौं । चीनले युद्धकालीन सैन्य भर्तीको नियम परिमार्जन गरेको छ । चीनको राज्य परिषद् र केन्द्रीय सैन्य आयोगले युद्धकालीन सैन्य भर्तीको नियम परिमार्जन गरेको जानकारी दिएका हुन् । ताइवानसँग तनाव जारी रहेकै समयमा बेइजिङले युद्धको अवस्थामा कस्ता व्यक्तिलाई सेनामा भर्ती गर्दा प्राथमिकता दिने भन्नेबारे नियम परिमार्जन गरेको हो ।
चीनको परिमार्जित युद्धकालीन सैन्य भर्ती नियमअनुसार अब पूर्वसेनाहरूलाई युद्धका अवस्थामा प्राथमिकताका साथ सेनामा भर्ती गरिनेछ । सैन्य विश्लेषकहरूका अनुसार पूर्व सेनाहरू चाँडै युद्धका लागि तयार हुन सक्छन् जसका कारण अनुभवी मानिसहरूलाई सेनामा भर्ती गराउँदा चीनलाई फाइदा हुनेछ ।
दक्षिण चीन सागर दाबीकर्ता आसियन राष्ट्रहरू र ताइवानलाई अमेरिकाले खुलेरै समर्थन गरिरहँदा सो क्षेत्रमा चीनसँग ताइवान, आसियन राष्ट्रहरू र अमेरिकाको टकराब बढिरहेको छ ।