Online News Portal

चुनाव हार्ने भएपछि गुण्डागर्दीमा उत्रिए उपेन्द्र यादव समर्थक

140

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले बारा २ मा निर्वाचन हार्ने देखिएपछि गुण्डागर्दीमा उत्रिएका छन् । हरहालतमा संसद पस्ने योजनाका साथ सप्तरी २ बाट चुनाव हारे पनि बारा २ मा उपचुनाव लड्न आएका उपेन्द्रलाई फिरंगी उम्मेदवार बन्दै बाराका मतदाताले रुचाएका छैनन् । उनीहरु स्थानीय जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाको पक्षमा छन् । मतदानको दिन नजिकिँदै गर्दा कुशवाहाको पक्षमा माहोल बढेपछि उपेन्द्रले पुरानै शैली अख्तियार गरेका हुन् । मधेशमा उपेन्द्रको चर्चित शैली हो, धम्क्याउने, थर्काउने, प्रलोभन दिएर गलाउने र जातिवादमा खेल्ने । बारा २ मा उनले अहिले यही रणनीति अख्तियार गरेका हुन् ।

आफ्नो बलियो संगठन नभएर गठबन्धनको सहारा लिएर उम्मेदवार बनेका यादवले मतदानको अघिल्लो दिनसम्म धम्काउँदै र थर्काउँदै हिँडेका छन् । गठबन्धनघटक दलका नेताहरुलाई पनि गलाउने रणनीति उनले लिएका छन् । खासगरी गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका युवा नेतालाई हराउन आएको भनेर धम्क्याउने र त्यतिले पनि असर नगरेपछि कांग्रेसको नेतृत्वबाट फोन गराएर दबाब बढाएको खुलेको छ । कांग्रेसका गैरयादव नेताहरुलाई जातीय हिसाबले हेरेर हराउन आएको भन्ने बुझाइमा उपेन्द्रमा रहेको छ ।

‘गैरयादवहरुलाई जातीय हिसाबले सोचेर केन्द्रीय नेतृत्वलाई भनेर, उनीहरुबाटै दबाब सिर्जना गर्दैछन्,’ कांग्रेसका एक नेताले भने । यो कार्यमा उपेन्द्रले आफ्ना छोरा अमरेन्द्रलाई पनि परिचालन गरेका छन् । ‘कुनै बेला उपेन्द्रले छोरा पठाएर धम्क्याउँछन् । त्यतिले नपुगेर हाम्रो पार्टीको नेतृत्वलाई कुरा लगाएर फोन गराउँछन्,’ ती नेता भन्छन् ।

उनकाअनुसार पछिल्ला दिनमा विकाश ठाकुरलगायत कांग्रेसका युवा नेताहरु बारा २ मा पुगेका थिए । सप्तरीमा आफूलाई चुनाव हराउन ठाकुर समूहकै भूमिका रहेको बुझाइमा रहेका उपेन्द्रले यसपटक पनि असुरक्षित महसुस गरेर छोरा परिचालन गरेर धम्क्याउने र पार्टी नेतृत्वमार्फत दबाब दिन लगाउने गरेका छन् । ठाकुरको उपेन्द्रका छोरासँग चर्काचर्की नै परेको छ भने पार्टी नेतृबाट फोन गराएर बारा २ बाट फर्किन निर्देशन गराएको ती नेताले बताए ।

उपेन्द्रले हारको प्रक्षेपण गर्दै कांग्रेसका गैरयादव नेता कार्यकर्ता र केही अरु पत्रकारहरुमाथि धम्क्याउँदै, गाली गर्दै गुण्डागर्दी गरिरहेको सुरक्षा स्रोतले पनि पुष्टि गरेको छ । ‘पुरै मधेश प्रदेश सरकार परिचालन भएको छ । कुनै सिस्टम छैन । खुलेयाम पैसा बाँड्ने, विरोधीलाई धम्क्याउने र गलाउने कार्य भइरहेको छ । गठबन्धन नै पुरै लागेकाले सीडीओ र एसपी साब सरहरु निरिह हुनुहुन्छ । जंगलराजजस्तो अवस्था छ,’ एक सुरक्षा अधिकारीले सुनाए । उनकाअनुसार सुक्ष्म निगरानी गर्न गएका निर्वाचन आयोगका पदाधिकारी पनि गठबन्धनको पावरका अगाडि निरिह बनेका छन् । एक्सन लिन सकेका छैनन् । यति हुँदाहुँदै पनि जनमत अध्यक्ष सीके राउतले सामाजिक सञ्जालमार्फत उपेन्द्रका हर्कत बाहिर ल्याइरहेका छन् । तर राज्य मौन छ । साभार: नेपाल पाना

Leave A Reply

Your email address will not be published.