नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि हुने चारदिने भारत भ्रमणमा जम्बो टोली हुने भएको छ । भ्रमण टोलीको औपचारिक सूचीमा सरकारी र निजी क्षेत्रका गरी ८८ जनाको नाम समेटिएको छ । केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव हुनेछन् । परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल टोलीमा छन् भने कृषिमन्त्री वेदुराम भुसालको पनि सम्भावना छ । ‘सूची थपघट चलिरहेकै छ तर टोलीमा मोटामोटी ५ मन्त्री हुने सम्भावना छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
भ्रमण टोलीमा सहसचिव र उपसचिव तहका अधिकारीका पनि लामो सूची छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन् । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा हुनेछन् । सरकारी प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ । सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ ।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, कन्फेडेरेसन अफ नेपलिज् इन्डस्ट्रिजलगायत संस्थाका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा हुनेछन् प्रधानमन्त्रीले भारतीय उद्योगी–व्यवसायीसँग अन्तरर्क्रिया गर्ने कार्यक्रम छ ।
त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नेछन् । दाहालले मध्यप्रदेशकै इन्दोरको पनि भ्रमण गर्नेछन् । त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन् । दाहालले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग अन्तर्क्रिया गर्ने सम्भावना छ । गत वर्ष उनी भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली आउँदा भाजपा र माओवादीबीच पार्टीगत सम्बन्ध प्रारम्भ भएको थियो, यो भ्रमणले त्यसलाई पनि निरन्तरता दिने प्रयास हुने बताइएको छ । कान्तिपुरबाट