Online News Portal

मोदीलाई भेट्दै प्रचण्ड, सम्मानमा दिवा भोज

89

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा छन् ।  प्रधानमन्त्री दाहाल बिहीबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट गई पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यस लगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपीसहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तर्क्रियालाई बिहीबार नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बुधवारै साँझ प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए । साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए । प्रचण्ड बुधबार नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रि भोजसहितको कार्यक्रममा सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.