नेपाल–भारतको विकासमा आपासी सहकार्य आवश्यक रहेकोमा यस क्षेत्रका जानकारहरूले जोड दिए
नयाँदिल्ली — नेपाल–भारतको विकासमा आपासी सहकार्य आवश्यक रहेकोमा यस क्षेत्रका जानकारहरूले जोड दिएका छन् । इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आईसीडब्लूए) ले बुधबार नेपाल–भारत विकास साझेदारी विषयमा गरेको अन्तरर्क्रियामा विज्ञहरूले वैश्विक कारणले परेको प्रभावलाई कम गर्न दुवै मुलकले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपालले वैदेशिक लगानी आकर्षण गर्न विभिन्न क्षेत्रमा सुधारात्मक प्रयासहरू गरेको चर्चा गरे । विदेशी लगानी, उद्योग तथा अद्योगिक क्षेत्रसम्बन्धी कानुनहरूमा सुधार गरेर लगानीमैत्री बनाइएको उनले बताए । नेपालले भारतमा थालेको विद्युत् निर्यातले व्यापार घाटा कम गर्न सघाउने उनले उल्लेख गरे । उद्योग, पर्यटन, उर्जा र सूचना प्रविधिलगायत क्षेत्रमा नेपालमा लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको उनको भनाइ थियो ।
नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रोयले कोरोना महामारी तथा रसिया–युक्रेन युद्धले विश्वव्यापीरुपमा आर्थिक कठिनाइहरू निम्त्याएको बताए । विशेषगरी दक्षिण एसियाली मुलुकहरूमा धेरै मार परेको उनको भनाइ थियो । यसबाट पार पाउन सबै मुलुकले सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनले पछिल्ला दिनमा नेपाल–भारतबीच महत्वपूर्ण सहकार्यको विकास भएको र त्यसले सकारात्मक दिशा लिएको समेत बताए ।
पूर्वराजदूत विजयकान्त कर्णले नेपालको विकास साझेदारमा भारत पहिलो रहेको बताए । उनले आफूहरूले बाल्यकालदेखि नै नेपालमा उर्जाको प्रशस्तै सम्भावना रहेको र त्यसको भारतसँग व्यापार गरिने सुन्दै आए पनि पहिलो पटक विद्युत्को व्यापार अहिले आएर सुरु हुनुलाई ‘कोशेढुंगा’ कै रुपमा व्याख्या गरे । उनले दुई मुलुकबीच रहेका विभिन्नखाले सम्झौताहरूको कार्यान्वयनमा आइपर्ने अनेकन बाधाको पहिचान गरी त्यसको समाधानमा दुवै पक्षले पहलकमदी लिनुपर्ने सुझाए । मिडियाको भूमिका पनि दुवै मुलुकको सम्बन्धलाई बलिया बनाउन महत्वपूर्ण हुनुपर्ने उनको भनाइ थियो । दुवै तर्फका मिडियाले वास्तविकता नबुझी गर्ने रिपोर्टिङले पनि कतिपय बेला समस्या ल्याउने गरेको धारणा उनले राखेका थिए ।
भारतीय प्राध्यापक महेन्द्र पी लामाले नेपालले पहिलो पटक व्यावसायीक रुपमा भारतलाई बिजुली निर्यात गरेकोमा आगामी दिनलाई सकारात्मक र आशावादी भएर हेर्नुपर्ने बतए । नेपाल मामिलाका जानकार एवं अनुसन्धाता निहार नायकले भारतले सन् १९५२ देखि नै नेपालको विकास कार्यमा साझेदार भएर काम गरिरहेको बताए । नेपालले लिएको ‘भिजन २०३०’ लाई सफल बनाउन भारत सहयोगी हुनुपर्ने उनले विचार राखेका थिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक उद्धव प्याकुरलले दुई मुलुकबीच भइरहेको शिक्षा क्षेत्रको सहयकार्यबारे चर्चा गरेका थिए । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसल अफेयर्सका कार्यकारी अधिकृत सुनिल केसी, पत्रकार कमलदेव भट्टराईले दुई मुलुकबीच विभिन्न क्षेत्रमा भइरहेको साझेदारीमा नेपाल पक्षको चासोबारे धारणा राखेका थिए ।
त्यस्तै, भारतीय उद्योगी व्यवसायीको संस्था फिक्कीका वरिष्ठ निर्देशक श्रीगौतम घोसले द्विदेशीय व्यापारको अवस्थाबारे प्रकाश पारेका थिए । ईकान्तिपुर