Online News Portal

चीनको उच्च वृद्धिको युग समाप्त भएको हो ?

163

सन् २००८–२००९ मा अधिकांश विश्व ठूलो आर्थिक मन्दीबाट गुज्रिरहँदा चिनियाँ अर्थतन्त्र भने खासै प्रभावित भएन । चीन ठूलो परिमाणमा सरकारी खर्च गरेर देशको अर्थतन्त्रलाई विश्वव्यापी आर्थिक संकटकबाट जोगाउन सफल भएको थियो । पछि चीनले बाँकी विश्वलाई नै मन्दीबाट निकाल्न सघाउ पुर्‍यायो । पछिल्लो समय, युक्रेनमाथिको रुसी आक्रमण र तीन वर्षदेखि चलिरहेको महामारीका कारण विश्व पुनः मन्दीको नजिक धकेलिरहँदा चीनले पहिलेजस्तै उद्धार गर्ने सम्भावना कम छ ।

गतवर्ष चीनको अर्थतन्त्र तीन प्रतिशतले मात्रै विस्तार भयो । यो वर्षको पहिलो तीन महिनामा पनि चीनको वृद्धि सुस्त रहने प्रक्षेपण छ । वर्षका दोस्रो भागमा भने अर्थतन्त्र बलियो गरी पुनरोत्थान हुने निक्केईले डिसेम्बरमा ३७ अर्थशास्त्रीमाझ गरेको सर्वेक्षणले देखाएको छ । तथापि सबैभन्दा आशावादी पुनरोत्थान परिदृश्यअनुरूप पनि देशले पहिलेकै जस्तो उच्च आर्थिक वृद्धिदर हासिल गर्न सक्दैन । जबकि, सन् १९७८ को आर्थिक सुधारपछि बेइजिङले वार्षिक औसत १० प्रतिशतको वृद्धि हासिल गरेको थियो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा महामारी सुरु हुनुअघि नै उतारचढाव देखिन थालेको थियो । सन् २०२० मा अर्थतन्त्रमा देखिएको सकारात्मक सुधारले केही आशा बढाएको थियो । तर, ‘शून्य कोभिड नीति’अन्तर्गत पटक–पटकको कठोर लकडाउन र ठूला व्यवसायीमाथिको पकडले लगानीकर्ताहरूले विश्वास गुमाए ।

वर्षको सुरुवातमा अर्थतन्त्रका लागि थप खराब समाचार सार्वजनिक भयो, देशको जनसंख्या ६० वर्षमा पहिलोपटक घट्यो, जुन तथ्यांकले अर्थतन्त्रलाई आवश्यक सक्रिय जनशक्तिमाथि नै प्रश्न खडा गरिदिएको छ । अहिले देशले कठोर शून्य कोभिड नीति परित्याग गरेको सन्दर्भमा के चीनको पुरानो उच्च आर्थिक वृद्धि फर्किएला त ? यसको छोटोमा जवाफ हुन्छ ः फर्किंदैन । चीनको दोहोरो अंकको वृद्धि युग लगभग समाप्त भइसकेको धेरै अर्थशास्त्रीको तर्क छ । उसले न्यून वा मध्यमस्तरको वृद्धि गर्ने सम्भावना भने कायम छ । तथापि, भावी चिनियाँ आर्थिक वृद्धिदर धेरै हदसम्म नयाँ संरचनात्मक चुनौतीविरुद्ध राज्यले अंगीकार गर्ने नीतिले निर्धारण गर्नेछ ।

तीव्र वृद्धि, मौन ह्रास
विश्व बैंकको तथ्यांकअनुसार चिनियाँ अर्थतन्त्र उच्च दरमा बढिरहँदा शताब्दीको सुरुदेखि र सन् २०२१ को बीचमा अर्थतन्त्रमा दश गुणाको बढेको थियो । अर्थात् सन् २००० मा १.२ ट्रिलियन डलरको चिनियाँ अर्थतन्त्र दुई दशकको अन्तरालमा झन्डै १८ ट्रिलियन डलर बन्यो । जबकि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको कुल गार्हस्थ उत्पादन भने सन् २००० को तुलनामा दोब्बरभन्दा केही बढी मात्र बढेको छ ।

जिडिपी तथ्यांकले चिनियाँ अर्थतन्त्रको केही कमजोरीलाई केही वर्षदेखि ढाकिदिएको कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पीका वरिष्ठ फेलो माइकल पेटिसले भने । ‘कुल गार्हस्थ उत्पादन वृद्धिको हिसाबमा उच्च आर्थिक वृद्धिको युग अहिले समाप्त भएको देखिए पनि उत्पादनशील लगानीको हिसाबले यो १० देखि १५ वर्षअघि नै समाप्त भइसकेको थियो,’ पेटिसले भने । अबका वर्षहरूमा चीनको विकास दर दुईदेखि पाँच प्रतिशतको बीचमा रहने अनुमान अधिकांश अर्थशास्त्रीको छ ।

बूढो हुँदै गएको जनसंख्या,घट्दो उत्पादकत्व
चीनले विशिष्ट जनसांख्यिकीय तथा आर्थिक स्थितिको बलमा हालैका दशकमा जुन अभूतपूर्व आर्थिक वृद्धि हासिल गरेको थियो, ती परिस्थिति अब हराउँदै गएको छ । चीनको न्यून लागतको औद्योगिक आधारको इन्धन बनेको विशाल श्रम आधार बढ्दो बुढ्यौली जनसंख्यासँगै तीव्र रूपमा संकुचित हुँदै छ । वर्षौंसम्मको न्यून जन्मदरपछि सन् २०२२ मा देशको जनसंख्यामा अघिल्लो वर्षको तुलनामा कमी आयो ।

उता बहुराष्ट्रिय कम्पनीहरूले यही समयमा चीनभित्रका निर्माण संयन्त्र भियतनाम, मलेसिया, भारत र बंगलादेशजस्ता अन्य एसियाली मुलुकमा स्थानान्तरण थालेका छन् । विगतमा घरजग्गा व्यवसाय र पूर्वाधारमाथिको विशाल लगानीले पनि चीनको विकासमा योगदान गर्दै आएको थियो । तर, त्यसले पनि चरम चुली हासिल गरेको छ । ती क्षेत्रमाथिको लगानीले न्यून प्रतिफल दिन थालेका छन् ।

चिनियाँ नेताले आर्थिक संक्रमणको पीडा कम गर्न केही नीतिगत परिवर्तन गर्न सक्छन् । पहिलो, उनीहरूले अवकाशको उमेर वृद्धि गर्न सक्छन्, जुन पुरुषको ६० वर्ष र महिलाको ५५ सहित विश्वमै कममध्ये एक हो । यसले अर्थतन्त्रमा श्रम सहभागिता दर वृद्धि गर्छ, जुन कुरा विगतमा जापानले सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ । यस कदमले पनि संकटलाई आंशिक रूपमा ढिलो बनाउन मात्र सक्छ । अर्को कदम, सरकारले हुकोउ प्रणाली खारेज गरेर सहरीकरण बढाउन सक्छ । घर दर्ता हेरेर सामाजिक लाभ वितरण गर्ने यस प्रणालीले गाउँबाट सहर आएका श्रमिकलाई लामो समय सहरमा बस्नबाट रोक्दै आएको छ । त्यसबाहेक, चीनको उन्नत डिजिटल पूर्वाधारले औद्योगिक उत्पादकत्व कायम राख्न सघाउन सक्छ । न्यून वृद्धिको अर्थतन्त्रतर्फको संक्रमणलाई मध्यनजर गर्दै चिनियाँ राजनीतिक नेतृत्वले भावी यात्राका नयाँ प्राथमिकता सोच्न थालेका छन् ।

के चाहन्छन् सी ? 
सीले बेइजिङको नीतिगत प्राथमिकतामा उनका पूर्ववर्तीले पछ्याउँदै आएको ‘जुनसुकै हालतमा वृद्धि’ भन्ने मन्त्रबाट दूरी बनाउन थालेका छन् । यसको सट्टा उनले ‘उच्च–गुणस्तरको वृद्धि’मा जोड दिएका छन्, जुन चीनको वर्तमान पञ्चवर्षीय योजनामा मार्गदर्शक सिद्धान्त हो । सीको यस ‘नयाँ विकास अवधारणा’ले बाह्य दबाब थेग्ने र चीनभित्र उच्च आर्थिक वितरणलाई प्राथमिकता दिन्छ । सारमा आन्तरिक उपभोगमा आधारित अर्थतन्त्रको निर्माण गरेर निर्यातमा आधारित वृद्धिमा चीनको निर्भरता घटाउने यस अवधरणाको लक्ष्य हो । एक बलियो घरेलु बजारले अस्थिर विश्वव्यापी व्यापार प्रणाली र पश्चिमी प्रतिबन्धको असरलाई कम गरिदिन्छ ।

चीनको नयाँ रणनीतिले स्वचालन र क्वान्टम कम्प्युटिङजस्ता अत्याधुनिक प्रविधिहरू पछ्याउँदै चीनको कार्बन उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ । चीनको चिप्स उद्योगलाई कमजोर बनाउने उद्देश्यले अमेरिकाले लगाएको कडा निर्यात प्रतिबन्धको लहरका बीचमा देशभित्रै यी प्रविधि विकास गर्नु उसका लागि थप महत्वपूर्ण भएको छ । तर के ‘उच्च–गुणस्तरको वृद्धि’ले पहिलेको जस्तै दोहोरो अंकको आर्थिक वृद्धिदर प्रदान गर्न सक्छ ? सिद्धान्तमा सम्भव देखिए पनि आन्तरिक उपभोगले उच्च आर्थिक वृद्धि इतिहासमा नदेखिएको पेटिसले बताए ।

चीनमा कुल गार्हस्थ उत्पादनमा घरायसी खर्चको हिस्सा सन् २०२१ को अन्त्यसम्ममा ३८ प्रतिशत मात्र छ । यो विश्वव्यापी औसत ६३ प्रतिशतभन्दा उलेख्य कम हो । आजको दिनमा चीन विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा कमजोर उपभोग स्तर भएको मुलुक हो । ‘घरेलु उपभोगलाई उलेख्य वृद्धि गर्न नसक्ने हो भने वृद्धिदर बढीमा दुई–तीन प्रतिशतको हाराहारीमा रहनेछ,’ पेटसले भने ।

सुस्त वृद्धिले कस्तो असर गर्ला ? 
चिनियाँ विकास इन्जिन सुस्त हुनुले सबैलाई असर गर्नेछ, भलै असर समान हुनेछैन । चीन प्रमुख निर्यात गन्तव्य भएका मुलुकले बढी पीडा महसुस गर्नेछन् । तथापि तिनले भारत र दक्षिणपूर्व एसियाजस्ता द्रुत वृद्धि देखिरहेको उदीयमान बजारतर्फ निर्यात मोड्न सके असर कम हुनेछ । आर्थिक मन्दीले भूराजनीतिक शक्ति सन्तुलनलाई पनि असर गर्नेछ । चीनले आगामी दशकमा आर्थिक रूपमा उचाइमा पुग्यो भने आर्थिक रूपमा अमेरिकालाई उछिन्ने उसको सपना साकार हुने स्थिति रहँदैन । आफू शक्तिको शिखरमा पुगेको लागेमा चीनले चाँडै ताइवानजस्ता मुद्दामा चाँडै कदम चाल्ने पनि विज्ञहरूले चेतावनी दिएका छन् । नयाँपत्रीका

Leave A Reply

Your email address will not be published.