अरुण कुशवाहा
वीरगंज (पर्सा), १८ जेठ ।
वीरगंज आदर्शनगर स्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले सेवाको नाममा कर्जाधनीलाई ठग्ने गरेको पाइएको छ । बैंकले कर्जाधनीलाई जानकारी विना प्रिमियमर व्याजदर बढाएको सेवाग्राहीको आरोप छ । कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी धर्मराज महतोले तत्कालीन गण्डकी विकास बैंकबाट ४ वर्ष पहिला २.६५ प्रतिशत प्रिमियम दरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए । प्रत्येक महिना किस्ता बुझाउँदै आएकोमा कर्जाधनीलाई जानकारी विना नै कर्जाको प्रिमियम दर बढाएकोमा बंैकसँग सोधपुछ गर्न जाँदा कर्मचारीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
ब्रान्च मैनेजर बेललाल अहमद र डेपुटी प्रोभिन्स म्यानेजर यसपाल कुमार टिवडेवालले सेवाग्राहीलाई दुव्र्यवहार गर्नुका साथै गाली गलौज गरि बैंकबाट जबरजस्ती निकालेको ऋणिको छोरा अरुण कुशवाहाले आरोप लगाएका छन् । विगत दुईहप्ता पहिला कर्जाको प्रिमियम दर बुझ्न जाँदा ४.५० प्रतिशत पाएपछि कर्जा लिँदा बखत २.६५ प्रतिशत मात्रै रहेकामा जानकारी विना नै प्रिमियम दर किन बढाइएको बुझ्दा ब्रान्च मैनेजर अहमद र डेपुटी प्रोभिन्स मैनेजर टिवडेवालले ऋणीका छोरालाई दुव्र्यवहार गर्नुका साथै गालीगलौज गरेका थिए ।
बैंकबाट कर्जा लिँदा दुई किमिमको व्याजदर हुन्छ, प्रिमियम दर र बेस रेट (आधारदर) । समय परिस्थिति अनुसार ब्याजदर घटबढ हुँदा बेसरेटलाई घटबढ गर्न सकिन्छ तर प्रिमियम दर यथावत नै रहन्छ तर यस बैंकले बेस रेट (आधारदर) को साथसाथै प्रिमियमको व्याजदर पनि बढाएको कुशवाहाको आरोप छ । बैंकले जानकारी विना नै प्रिमियको ब्याजदर बढाएको पाएपछि ऋणिले अहिले तीन महिनादेखि किस्ता रकम पनि बुझाएका छैनन् ।
जानकारी विना नै प्रिमिमयको व्याजदर कहिलेदेखि बढाइएको हो ? त्यस वापत बैंकले ऋणिसँग हालसम्म कति पैसा असुलेका छन् ? त्यसबारे जानकारी लिन खोज्दा बैंक मैनेजर लिखित निवेदन दिनुपर्ने भनेपछि लिखित निवेदन दिदाँ पनि जानकारी दिन बैंकले आलटाल गर्दै आएको ऋणिको छोरा कुशवाहाको आरोप छ । कर्जाबारे जानकारी नदिएपछि कुशवाहा बैंक मैनेजरसँग बुझ्दा मैनेजरले डेपुटी प्रोभेन्स मैनेजरलाई बोलाई दुबैजना मिली दुव्र्यवहार गर्नुका साथै गाली गलौज गरेको कुशवाहाको आरोप छ ।
यसबारे नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका मैनेजर बेललाल अहमदले कुनै किसिमको दुव्र्यवहार नगरेको बताए । उनले भने ‘मलाई त्यस्तो केही लाग्दैन कि हामीले दुव्र्यवहार गरेका छौं, बाँकी कुरा उहाँलाई बैंकमा आएर बुझ्न भन्नुहोला’ । ऋणिका छोरा अरुण कुशवाहालाई आफू लगायत कर्मचारीहरुले दुव्र्यवहार नगरेको बताए । साधारण कुराकानी भएको होला, मलाई त लाग्दैन कि त्यो दुव्र्यवहार हो भने ।
तर ऋणिका छोरा कुशवाहाले भने दुव्र्यवहार मात्रै नभई गालीगलौज गर्दै कर्मचारी लगाई बैंकबाट निकाल्न लगाएको आरोप लगाए । ब्याजदरबार जानकारी लिनको लागि बैंकमा लिखित निवेदन समेत दिदाँ अहिलेसम्म बैंकले कुनै किसिमको जानकारी नदिएको उनको भनाई छ । बैंकले लामो समयदेखि लिँदै आएको बढि ब्याजदर घटाउनुपर्ने ऋणिको छोराको भनाई छ भने बैंकले पहिला बाँकी रहेको किस्ता बुझाए मात्रै ब्याजदर घटाउने भनेपछि दुबै पक्षबीच विवाद भएको थियो ।
गण्डकी विकास बैंक केही वर्ष अघि मात्रै मेघा बैंकसँग गाभिएको थियो भने हाल मेघा बैंक पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिएको छ । गण्डकी विकास बैंकका तत्कालीन बैंक मैनेजर मुकेश अधिकारी हुँदा ऋण लिएकोमा हाल नयाँ नयाँ बैंक मैनेजर आएर मनोमानी रुपमा ऋणीलाई जानकारी विना नै ब्याजदर बढाउने कार्य गर्दै आएका छन् ।