सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ ।
आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ।
‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौं’ उनले भने, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।’
‘अहिले सडक विस्तारको काम गरिरहेको चाइनिज ठेकेदारले काम गर्न नदिए जाने मनसाय बनाएका छन् । ठेक्का तोडेर धरौटी जफत गर्नुभन्दा अरु कारबाही हामी गर्न सक्दैनौं’ उनले भने, ‘हामीले ठेक्का तोडेको अवस्थामा उनीहरुले विभिन्न कारण देखाएर मुद्दा हाल्ने तयारी गरेका थिए, जसकारण हामीले मुद्दा हार्दा ठूलो क्षति व्यहोर्नुपर्ने थियो ।’ निर्माण सामाग्री नपाएको, विद्युतका तार नसारेको, रुख कटानमा ढिला गरेको लगायतका कारण देखाउँदै उनीहरु अदालत जाने तयारी गरेका बेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उनको भनाइ छ ।
निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।
एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ । उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ ।
‘हामीले दुवै खण्डको म्याद दुई वर्ष थप गर्नेगरी कन्सल्टेन्टलाई निवेदन दिएका थियौं’ उनले भने, ‘कन्सल्टेन्टबाट सिफारिस भएर गएको तीन सय ५० दिन पश्चिम खण्डमा थप भएको छ, पूर्वी खण्डमा तीन सय ३० दिन थप गर्ने सिफरिस भएको छ ।’ थपिएको म्याद अनुसार पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद २३ जुलाइमा सकिन्छ । थप गरिएको अवधिमा सडक विस्तारको ७५ प्रतिशत काम सम्पन्न हुने सहव्यवस्थापक झाले दाबी गरे ।
‘तेस्रो भेरियन्टको कोभिड, समयमा कच्चापदार्थ नपाउनु, विद्युतका तार सार्न ढिला हुनु, रुख कटान तथा जिम्माको काममा ढिला हुनु लगायतका कारणले काम ढिला भएपछि म्याद थपको माग गरेका हौं’ उनले भने, ‘अहिले निर्माण सामग्री पर्याप्त रहेको छ, कुनै अवरोध नभएमा काम तीव्र गतिमा अगाडि बढाउन सक्छौँ ।’ हाल नारायणगढ बुटवल खण्ड अन्तर्गत पूर्वी खण्डमा १५ किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए ।