लिलामी गरेको घर ३० महिनामा पनि गरेन्न मदन यादवले खाली, घरधनीको बिचल्ली

वीरगंज, ४ पुस: वीरगंज महानगरपालिका वडा नं. १६ निवासी मदन प्रसाद यादवले महालक्ष्मी विकास बैंकले लिलामी गरेको घर आफ्नो भएको दाबी गर्दै घर खाली गर्न अस्वीकार गरेपछि घरधनी ठूलो समस्यामा परेका छन्।

मदन यादवले तत्कालीन एती डेभलपमेन्ट बैंक लि.बाट घरायसी प्रयोजनका लागि ऋण लिएका थिए। बैंकले पटक-पटक ताकेता गर्दा पनि उनले ऋण तथा ब्याज नतिरेपछि, मिति २०६९ सालमा कानूनी प्रक्रिया पूरा गरी बैंकले उक्त घर आफ्नो नाममा नामसारी गराएको थियो। पछि, एती डेभलपमेन्ट बैंक लि. र महालक्ष्मी विकास बैंक लि. मर्ज भएपछि, महालक्ष्मी विकास बैंकले उक्त घर लिलामी गर्‍यो।

२०७८ साल चैत १० गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित लिलामी सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नं. १६ निवासी लालदेव प्रसाद यादवले घरसहितको जग्गा खरिद गरेका थिए। बैंकले लालदेव यादवको नाममा २०७९ असार १५ गते घरजग्गा नामसारी गर्‍यो। लालदेव यादवले बैंकलाई ३५ लाख ५ हजार ५ सय ५१ रुपैयाँ तिरेका थिए।

खरिद गरेको घर आफ्नो भोगाधिकारमा लिन लालदेव यादवले प्रहरी प्रशासनदेखि बैंकसम्म धाइरहे। तर मदन यादवले बिभिन्न बहाना बनाएर घर खाली गर्न नमानेको लालदेव यादवले सञ्चारकर्मीहरूसँग बताए।

समस्याको समाधान खोज्दै:

लालदेव यादवले आफ्नो घर भोग गर्न नपाएपछि स्थानीय भद्रभलादमी, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र इनर्वा प्रहरी चौकीमा पटक-पटक छलफल गरे। मदन यादवले हरेक छलफलमा घर खाली गरिदिने आश्वासन दिए पनि, हालसम्म उनले उक्त घर खाली गरेका छैनन्।

वडा अध्यक्ष पशुराम चौरसिया, स्थानिय अगुवा पल्गदारी यादव, वडा सदस्य प्रमोद यादव लगायतका उपस्थितिमा मौखिक र लिखित सहमति भए पनि, मदन यादवले सहमतिको पालना नगरेको बताइएको छ।

कानूनी प्रक्रिया अगाडि बढ्ने:

पीडित लालदेव यादवले आफ्नो खरिद गरेको घरको भोगाधिकार पाउन कानूनी प्रक्रिया अगाडि बढाउने बताएका छन्। स्थानीय अगुवा दिनेश प्रसाद कानूका अनुसार, मदन यादवको गलत गतिविधिका कारण लालदेव यादवले न्याय पाउन ढिलाइ भएको छ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि विवाद समाधानका लागि पहल गरेका थिए। तर पटक-पटक दिएको भाकामा पनि मदन यादवले घर खाली नगरेपछि, अब कानूनी प्रक्रिया अघि बढाइने लालदेव यादवले बताएका छन्।

स्थानिय बासिन्दाको आक्रोश:

मदन यादवको गतिविधि र हठका कारण स्थानिय बासिन्दा आक्रोशित भएका छन्। भ्रष्ट प्रवृत्ति र फटाहा व्यवहारका कारण वडा नम्बर १६ का बासिन्दा समस्यामा परेको बताइएको छ। स्थानीय भद्रभलादमीको मानमर्दन गर्ने, चौक चौराहामा टिकाटिप्पणी गर्दै हिँड्ने यादवको व्यवहारले समुदायमा तनाव उत्पन्न गराएको छ।सम्भार Nepal post Daily

Comments (0)
Add Comment