अरुण कुशवाहा ।
भदौ २७
पर्सा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको टोलीले १ सय ७३ किलो ५०० ग्राम गाँजा बरामद गरेको हो ।
स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठा भित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ । यस घटनामा घरधनी मेहतासहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरी निरीक्षक केसीको भनाई छ ।
यता स्थानियबासीहरुका अनुसार गाँजा कारोबारको मुख्य नाइके उनका छोरा रुपेश मेहता रहेका छन् । रुपेश मेहता गाउँ कै एक जना नेता भनाउने उच्च स्तरका व्यक्तिसँग मिली यस्तो कारोबार गर्दै आएका छन् ।
उनीहरूको गिरोहले रक्षाबन्धन १/२ दिन अगाडि एउटा पिकअप भ्यानमा लगभग ५ क्विन्टल गाँजा ल्याएका थिए । उक्त ल्याइएको गाँजा धोरे गाउँ बाहिर रहेको रेडक्रस सोसाइटी भवन अगाडि बाटोमा रोकेर रातिको ११ बजे उक्त पिकअप भ्यानबाट गाँजा झारी सकेपछि उक्त पिकअप लाई प्रहरी चौकीले चेकजाँच गर्दा केही फेला परेको थिएनन् । ठीक त्यसको २ दिन पछि उक्त गाँजा भारतको सुगौलीमा भारतीय प्रहरीले बरामद गरेको थियो । भारतीय प्रहरीको अनुसन्धानले उक्त गाँजा धोरेबाट आएको खुलेको थियो ।
स्थानियहरुले बताएका अनुसार एक जना धोरे कै व्यक्तिले जनप्रतिनिधि तथा राजनीतिक दलको आडमा लागुऔषधको गाँजाको ठूलो कारोबार गर्दै आएको छन् । उनले माधोलाल मेहताका छोरा रुपेश मेहतालाई निर्देशन गर्छन र रुपेश आफ्नो बुवा सहित अन्य ५/६ जना युवाको झुण्ड बनाइ यस्तो कारोबार गर्दै आएका छन् ।
यदि पर्सा प्रहरीले राम्रोसंग सुक्षम अनुसन्धान गर्यो भने यो गिरोहका सम्पूर्ण कारोबारी प्रहरीको फण्डामा जाने स्थानियहरुले ठोकुवा गरेका छन् ।
स्रोतका अनुसार गाँजा कारोबारीहरुले घरवाला माधोलाल मेहताको नाममा मुदा चलाउन र बाँकी रहेका सम्पूर्णलाई जोगाउन लागि परेका छन् । स्रोतका अनुसार उनीहरूले भोलि मधोलाल मेहतालाई इलाका प्रहरी कार्यालय पोखरीयामा हाजिर गराएर उनलाई सम्पूर्ण जिम्मा लिने गरी रकमी चलखेल गरी बाँकी कारोबारीहरुलाई बचाउन लागेका छन् ।
गाँजा बरामद भएसँगै ठूला ठूला नेताहरुको समेत इलाका प्रहरी कार्यालय पोखरीयामा फोन आउन लागेको नाम नखुलाउने शर्तमा एक प्रहरीले बताए । उनका अनुसार बरामद भएको घरवाला मधोलाल मेहतालाई मात्र मुदा चलाउन र बाँकीको नाम नखुलाउने भन्न लागेका छन् सभार : ज्योति दैनिक