Online News Portal

चिनियाँ लसुलले अमेरिकामा खतरा किन ?

342

लसुनका पोटी चीनबाट महासागर पार गरेर आमअमेरिकीको टेबुलको खानामा प्रवेश गरेसँगै लसुन पनि अमेरिकी नेताको ‘चिनियाँ खतरा’को भाष्यमा फस्नेछ भन्ने कसले अनुमान गरेको थियो होला र ? हालै रिपब्लिकन सिनेटर रिक स्कटले अमेरिकी वाणिज्यसचिवलाई पत्र लेखी ‘कम्युनिस्ट चिनियाँ लसुन’ अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको दाबी गर्दै अनुसन्धानका लागि आह्वान गरेका थिए । मूर्खतापूर्ण पत्र मिडियामा खुलासा हुँदा ‘अमेरिकी सिनेटर’को व्यावसायिक नैतिकतामाथिको सार्वजनिक धारणा खस्किएको छ, अर्थात् रिक स्कट र पत्र अन्तर्राष्ट्रियस्तरमा हाँसोको विषय बनेका छन् ।

स्कटको माग स्पष्ट रूपमा बेतुके छ । भ्याम्पायर (रक्तपिपासु प्रेत)लाई लिएर बनेका केही पश्चिमा किंवदन्तीबाहेक लसुनलाई लिएर निराधार भय बोक्ने मानिस बिरलै हुन्छन् । अनलाइन भिडियो र पकवान ब्लगलाई पत्याउँदै स्कटले चिनियाँ लसुन मानव दिसा–पिसाब र ढललाई मलका रूपमा प्रयोग गरी खेती गरिन्छ भन्दै लसुनको सुरक्षा र स्वच्छताबारे चिन्ता व्यक्त गरेका थिए । उनका अनुसार यदि खाद्य पदार्थ असुरक्षित छ भने यसले अमेरिकी ‘राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य र आर्थिक समृद्धि’माथि गम्भीर खतरा निम्त्याउँछ ।

स्कटलाई इन्टरनेटमा विशेष रुचि भए पनि उनी पढ्ने–लेख्ने मान्छे रहेनछन् । सन् १९११ को सुरुवातमा अमेरिकी कृषि वैज्ञानिक फ्यांकलिन हिराम किङले आफ्नो पुस्तक ‘फार्मर्स अफ फोर्टी सेन्चुरिज : ओग्र्यानिक फार्मिङ इन चाइना, कोरिया एन्ड जापान’मा प्रांगारिक मल (जनावर चौपायाको मलमूत्रबाट बन्ने मल) पूर्वी–एसियाली कृषिको दिगोपनको अभिन्न अंग थियो भनेर लेखेका थिए । किङको यो बुझाइले वर्तमान वैज्ञानिक ज्ञानलाई मात्र प्रतिबिम्बित गर्दैन, यसले अमेरिकी कृषिका लागि प्रेरणाका रूपमा पनि काम गरेको थियो । बिबिसीसमेतले स्कटको चिनियाँ लसुनप्रतिको भयलाई अनदेखा गर्न सकेन र स्कटको भय निराधार हो भनेर पुष्टि गर्न एक क्यानेडेली संस्थाको उद्धरणसमेत लियो ।

अमेरिकामा चीनसम्बद्ध विषयलाई व्यापक ढंगले सुरक्षा चुनौती बनाउने प्रवृत्तिले सानातिना चासोलाई पनि विनाप्रमाण राष्ट्रिय सुरक्षासँग जोड्ने गरिन्छ

वास्तवमा भन्ने हो भने, अमेरिकी विधायकको तल्लोस्तरको आरोप सुन्ने जोकोही पनि खित्का छाडेर हाँस्नेछ । तर, यस्ता आरोप दोहोरिइरहन्छन् भने यसले स्पष्टतः शत्रुता झल्काउँछ । हुवावे, जेडटी, सिन्जियाङ कपास, समुद्री खाद्य पदार्थ र लसुनसम्मका बेतुके टिप्पणी अमेरिकामा सुन्न सकिन्छ । यी बेतुके टिप्पणी अमेरिकी कंग्रेस सदस्यका ‘मानसिक समस्या’को उपज मात्रै नभई यस्ता टिप्पणीलाई प्रोत्साहन गर्ने राजनीतिक वातावरणको उपज पनि हो । अमेरिकामा चीनसम्बद्ध विषयलाई व्यापक ढंगले सुरक्षा चुनौती बनाउने प्रवृत्तिले सानातिना चासोलाई पनि विनाप्रमाण राष्ट्रिय सुरक्षासँग जोड्ने गरिन्छ । यसले केही चीनविरोधी नेतालाई दुनो सोझ्याउने अवसर दिन्छ ।

स्कटले निकालेको लसुन मामिला नै लिऊँ । सन् २०२० मा जब महामारी फैलियो तब यातायात खर्च र अन्य कारणले अमेरिकामा चिनियाँ लसुन निर्यात हुन सकेन र अमेरिकामा लसुनको भाउ अकासिएको थियो । अहिले दुई वर्षयताको तीव्र मुद्रास्फीतिका समयमा चिनियाँ लसुन निर्यातका कारण आमअमेरिकीले सस्तोमा लसुन खरिद गर्न पाएका छन् । यसबाट को खुसी नहोला ? तर, सिनेटर स्कटजस्ता मान्छे दुःखी भएका छन्, जो कृषिमा धनी राज्य फ्लोरिडाबाट प्रतिनिधित्व गर्छन् र सतहमा बेतुके कुरा गर्दै रणनीति बनाइरहेका हुन्छन् ।

उल्लेखनीय के छ भने, अमेरिकी मूलधारका मिडिया प्रायः ‘चिनियाँ खतरा’का भाष्यप्रति संवेदनशील हुने गर्छन् । तथापि, यसपटक अमेरिकी मिडियामा मौनता देख्न सकिन्छ, अर्थात् स्कटको पत्रलाई खासै ग्राह्यता दिएको देखिएन । महŒवपूर्ण विषय के हो भने अमेरिकी सांसदको चरम चीनविरोधी विचारका मामिलामा अमेरिकी जनमतले ‘मौन रहने’ र यस्ता विचारको पर्दाफास नगर्ने छनोट गरेको देखिन्छ । यो मौनताले ‘सुरक्षा खतरा’को मुकुन्डो लगाएर अनुचित प्रतिस्पर्धाको खतरनाक स्वीकृति र चरम स्वार्थको सामूहिक ‘मौन अनुमोदन’को संकेत दिन्छ ।

तसर्थ, स्कटको पत्रलाई ‘ठट्टा’मा मात्रै सीमित गर्न सकिँदैन । वास्तवमा यो भद्दा मजाक मात्रै होइन, यो चीन–अमेरिकी सम्बन्धको कठोर यथार्थ हो । सांसदका झुटले क्षति पुर्‍याउँछ भन्ने व्यापक चेतनाका बाबजुद यी गलत धारणाको निरन्तरता र वृद्धि डढेलोझैँ सल्किरहेको छ । प्रश्न उठ्छ, यसको विनाशकारी प्रभावबारे सामूहिक मान्यता मौजुद हुँदाहुँदै पनि गलत सूचनाको चक्र किन टिकिरहन्छ ? केहीले अझै पनि अमेरिकी क्यापिटोल हिल (संसद् भवन)ले अमेरिकाको ‘विविधतापूर्ण संस्कृति’ झल्काउँछ भन्छन् । तर, वास्तवमा अमेरिकी संसद् ‘षड्यन्त्रको सिद्धान्त’ उब्जाउ हुने मलिलो प्रजननस्थल हो जसले ‘अमेरिकी संस्कृतिको’ उत्थानमा रोक लगाउँछ । अर्को भाषामा भन्ने हो भने यी षड्यन्त्रका सिद्धान्तले विश्वजगत्मा अमेरिकी राष्ट्रको छविलाई दिनानुदिन धूमिल बनाउँदै गइरहेको छ ।

चिनियाँ लसुनलाई मानव दिसा–पिसाबबाट निषेचित गरी ढलमा उब्जाइएको थियो भन्ने भनाइ पत्रमा उल्लेख गरेर स्कट र अन्यले चीनप्रति पुरानो एवं गलत धारणा राख्छन् भन्ने स्पष्ट पारेका छन् । यी दाबीकर्ताले चीनको कृषि अभ्यासबारे थप सूचित भई आफ्नो विवेकको दायरा बढाउन आवश्यक छ ।

चीनले निर्यात गर्ने लसुनका लागि सुरक्षा प्राविधिक रोपण मापदण्डको कडाइसाथ पालना गर्छ जसले मल र सिँचाइको पानी मात्र नभई हावाको गुणस्तरलाई पनि समेट्छ । यदि खाद्य सुरक्षाका वैध सरोकार छन् भने तिनलाई सामान्य र पारदर्शी माध्यममार्फत दुवै पक्षद्वारा प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ । लसुनलाई वैचारिक रुढीबद्धताको चस्माबाट एक किसिमको संज्ञा दिनु वा ‘आक्रमण’ गर्नु आवश्यक छैन । जति बलपूर्वक अमेरिकाले प्रहार गर्छ त्यति नै अमेरिकाले आफ्नो अज्ञानता प्रकट गर्छ । यसले अमेरिकामा रहेको बौद्धिकताविरोधी प्रवृत्तिलाई लिएर विश्वव्यापी चिन्ता पनि बढाउँछ ।
(११ डिसेम्बरको ग्लोबल टाइम्सको सम्पादकीय) लाई नयाँ पत्रीका मा प्रकाशित गरिएको हो । 

Leave A Reply

Your email address will not be published.