भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन्छ ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्।
सुनसरीस्थित इनरुवा सब–स्टेशनको शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने दाहालले बताए।
काठमाडौँमा हुने उक्त कार्यक्रमका लागि भारतीय उच्च अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको पनि दाहालले बताएका छन्।
दाहालले यस वर्षको वर्षायाममा मात्रै नेपालमा उपभोग गरेर उब्रिएको बिजुली बेचेर १५ अर्ब रुपैयाँ आम्दानी भएको पनि खुलाएका छन्।
यस सम्झौताले नेपाली बिजुलीका लागि भारतीय बजार सुनिश्चित गर्नेछ। प्रारम्भिक चरणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने लक्ष्य नेपालले राखेको छ।
यो सम्झौतापत्रको अवधि २५ वर्षको बनाउने तयारी छ। यो सम्झौतापछि २५ वर्षसम्म नेपाली बिजुलीलाई भारतीय बजार मिल्नेछ।
नेपाली बिजुलीका लागि भारतीय बजारमा दीर्घकालीन ढोका यो सम्झौताले खोल्ने छ। नेपालमा उत्पादित विद्युत् स्थानीय बजारमा खपत नहुने भएकाले भारतीय बजार बलियो विकल्प हो। अहिले नै विद्युत् खेर गइरहेको अवस्था भारतीय बजार अतिआवश्यक रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।