अमेरिका चीनको चेपुवामा नेपाललाई असर परेको हो – केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको बताएका छन्।
महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए चीन वैज्ञानिक समाजवादी देश हुने उनको धारणा छ।
उनले यतिखेर चीन विश्वबजार कब्जा गर्न अमेरिकासहितका साम्राज्यवादी देशसित प्रतिष्पर्धा गरिरहेको र त्यसको प्रभाव नेपालमा पनि परिरहेको स्पष्ट पारे।
अध्यक्ष केसीले अमेरिकी परियोजना एमसीसी चीन घेर्न आएको दोहोर्याए।
‘एमसीसी अमेरिकी साम्राज्यवादद्वारा चिनियाँ साम्राज्यवादलाई घेराबन्दी गर्न आएको भन्ने तपाईंहरूलाई थाह छ नै’ उनले भने, ‘चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ। त्यसैले एमसीसी पास भइसक्यो, एसपीपी पनि लागू गर्न खोजिएकै हो।’
माओत्सेतुङको जन्मजयन्ती मनाइरहँदा साम्राज्यवादका विरुद्ध लड्न तयार हुनुपर्ने आवश्यकतामा उनले जोड दिए। केसीले यतिखेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहे पनि यो सधैँ स्थायी नहुने विश्वास व्यक्त गरे।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन, नेकपा (मसाल) ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंह, काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मी लगायतका नेताहरुले सम्बोधन गरेका थिए।