सिन्धुली — चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए ।
नेपाली सेनाको आमन्त्रणमा ती देशका ८ जना आवासीय सैनिक सहचारीहरुलाई अवलोक भ्रमण (स्टाफ राइड) गराई सिन्धुलीगढीको महत्त्वको बारेमा प्रकाश पारिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट आएको टोलीले सिन्धुलीगढी परिसरमा चार घण्टा बिताएका थियो ।
सिन्धुलीगढीको महत्त्वबारे प्रकाश पारेका अन्वेषणकर्ता सागरकुमार ढकाललाई बेलायती सेनाका कर्णेल पल स्मिथले नेपाल एकीकरणका क्रममा सिन्धुलीगढीमा भएको युद्धमा ब्रिटीस सेना पराजित हुनुको कारण बारे पटक–पटक सोधेका थिए । आधुनिक हतियारले सुसज्जित ब्रिटीस कम्पनी सेनाको पराजयबारे उनको लामो जिज्ञासा थियो ।
जवाफमा अन्वेषणकर्ता ढकालले वीर गोर्खाली सेनाले आफ्नो देशको अस्तित्व रक्षाका लागि घरेलु हतियार तथा रैथाने किरा र अल्लो, सिस्नोको सहारामा मनैदेखि लडेकाले जित भएको स्मरण गराएका थिए ।
सिन्धुलीगढीबारे जानकारी लिएपछि सेनाले निर्माण गरेको नेपालकै पहिलो युद्ध संग्रहालयको सहचारी सेनाहरुले अवलोकन गरेका थिए । कमलामाइ नगरपालिका मातहत रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिएका थिए ।