Online News Portal

अभियुक्त संरक्षण गर्दै बाराका एस.पि. देउवा, कुशवाहा मृत्यु प्रकरणमा मुछिएका अभियुक्तहरु पक्राउ पर्न सकेनन्

777

  • आदर्शकोतवाल (बारा), ७ असार
    बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी प्रभु कुशवाहा मृ्त्यू प्रकरणमा बारा प्रहरीले अभियुक्त संरक्षण गरि रहेको तथ्य फेला परेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा दोश्रो पक्षले कुटपिट गर्दा गम्भिर घाइते भएका प्रभू कुशवाहाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृत्यु पश्चात पीडित पक्षले १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले अभियुक्तलाई पक्राउ गर्न कुनै किसिमको कदम नचालेको पीडित पक्षको आरोप छ । पीडित पक्षले जाहेर दिएपश्चात आरोपीहरुलाई पक्राउ गर्न पटक पटक जिल्ला प्रहरी कार्यालय बारा धाउँदा प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले अभियुक्तलाई पक्राउ गर्नुभन्दा पनि संरक्षण गरि रहेको पीडित पक्षको आरोप छ ।
    घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष एवं नेपाली काँँग्रेसका कार्यकर्ता रामअयोध्या प्रसाद यादव, लालबाबु प्रसाद कुशवाहा, सन्जय प्रसाद कुशवाहालाई संरक्षण गर्न लागि परेका छन् । घटना भएको दुई हप्ता वितिसक्दा समेत जिल्ला प्रहरी कार्यालय बाराले हालसम्म अभियुक्त पक्राउ गर्न पक्राउ पुर्जी समेत जारी नगरेको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत सुरेन्द्र यादवको आफन्त पर्ने रामअयोध्या यादव यस घटनामा मुच्छिएपछि उनलाई बचाउन प्रहरी निरीक्षक सहित प्रहरी उपरीक्षक देउवा पनि लागि परेका छन् ।
    नेपाली काँग्रेसका राष्ट्रिय अध्यक्ष एवं प्रधानमन्त्री शेर बहादुर देउवाका आफन्त पर्ने प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले हत्या जस्तो घटनामा मुछिएका नेपाली काँग्रेसका कार्यकर्ता पक्राउ गर्नुभन्दा पनि कार्यकर्ता संरक्षण अभियानमा नै लागेका छन् । घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष एवं नेपाली काँग्रेसका कार्यकर्ता रामअयोध्या प्रसाद यादव काँग्रेसकै कार्यकर्ता भएकै कारण हालसम्म कारवाहीबाट उन्मूक्ति पाएका छन् । उनलाई पक्राउ गर्नका लागि पीडित पक्षले पटक पटक प्रयास गरेपनि प्रहरीले तदारुक्ता नदेखाएको कारण उनी हालसम्म प्रहरी कारवाहीबाट उम्किन सफल भएका छन् ।
    घटना भएपश्चात मुख्य योजनाकार सहित अन्य एक दर्जन व्यक्तिहरु फरार छन्, तर तिनीहरु त्यही आसपासको वस्तीमा लुकेर बस्ने गरेको पीडित पक्षले सूचना दिदा समेत प्रहरीले कारवाही गर्न आनाकानी गरि रहेको छ । त्यस्ता घटनामा अन्य कुनै सर्वसाधारण भएको भए, अहिलेसम्म प्रहरी हिरासतमा हुन्थ्यो तर काँग्रेसको कार्यकर्ता भएकै कारण मुख्य योजनाकार सहित केही व्यक्तिहरु प्रहरीको फन्दामा हालसम्म पर्न सकेको छैन । रौतहटको औरहियामा अभियुक्तहरु लुकेर बसेको आदर्श कोतवाल इलाका प्रहरी कार्यालय, सिम्रौनगढ इलाका प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय बारालाई सूचना दिदा पनि प्रहरीले आफूहरुलाई आदेश नआएको कारण पक्राउ गर्न नमिल्ने भनि पीडितलाई फर्काइ रहेका छन् ।
    यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अभियुक्तलाई कारवाही गरिने भनेर आश्वासन दिइरहेका छन् तर प्रहरी उपरीक्षक देउवा र प्रहरी निरीक्षक यादव अभियुक्त संरक्षण गरि रहेका छन् । त्यो झैझगडाको बहानामा हत्या भएको छ, त्यसमा संलग्न कोही पनि कानूनी कारवाहीबाट उम्किन सक्दैन, हामी विभिन्न तरिकाले अनुसन्धान गरि रहेका छौं भन्दै प्रहरी नायब उपरीक्षक थापाले आश्वासन दिइरहँदा उनकै माथिल्लो तहका हाकिम प्रहरी उपरीक्षक भने पार्टी कार्यकर्ता संरक्षण गर्न लागि परेका छन् । यसरी बारा प्रहरीको कार्यशैलीले सर्वसाधारण कसरी न्याय पाउँछन् भन्ने आशंका उब्जिएको छ । बारा प्रहरी अपराधी संरक्षणमा जुटेका छन्, कि अपराध न्यूनीकरणमा जुटेका छन्, त्यो खोजनविनको विषय बनेको छ ।
    गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा कुशवाहालाई छिमेकी विलाश महतो कोइरी, किशोरी महतो, लालबाबु प्रसाद कुशवाहा, रामबाबु कुशवाहा, रामदेव महतो, हिरामन कुशवाहा, बुनी महतो लगायतका परिवारले प्रभु कुशवाहालाई मरणासन्न हुनेगरि कुटपिट गरेका थिए कुटपिट पश्चात गम्भिर घाइते भएका प्रभु कुशवाहाको उपचारको क्रममा सोही दिन नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतक कुशवाहा पूर्व सहायक वन अधिकृत थिए ।
Leave A Reply

Your email address will not be published.