Online News Portal

चिनिया नाका बाट निर्यात रोकिँदा व्यापारी मारमा

151

कोरोना संक्रमण का कारण बन्द भएका उत्तरी तातोपानी र रसुवागढी नाकाबाट पछिल्लो समय सामान्य आयात भइरहे पनि निर्यात भने २०७२ सालको भूकम्पपछि ठप्प छ । तातोपानी र रसुवागढी भएर मैदा, बेसार, खुर्सानी, बाँसको मुडा, कुचो, हस्तकलाजस्ता १ सय ८३ प्रकारका सामाग्री चीनको ल्हासा, सिगात्से, आम्दो, जाङ्मु भेगलगायतका ठाउँमा पुग्ने गर्थे ।

कोरोनाका कारण २०७६ पुसदेखि ती सामानको निर्यात ठप्प छ । आर्थिक वर्ष २०७६÷७७ मा रसुवागढी नाका हुँदै चीनतर्फ ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
नाका सहज हुँदा महिनामै ४० टनसम्म बेसार र खुर्सानी रसुवागढी हुँदै चीन निर्यात गरेको कालिका गाउँपालिका–५ जिवजिवेका व्यापारी मुकुन्द पौडेलले बताए । उनले निर्यात गरेका सामान पनि २९ महिनादेखि केरुङको गोदाममा थन्किएका छन । ‘करोडौं मूल्यका ती सामान अब त कुहिएर कामै नलाग्ने भइसके होला,’ उनले भने । रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका थिए । ती व्यापारीले केरुङसम्म पु¥याए पनि पछि त्यहाँ जान नपाउँदा गोदाममै थन्किएको हो । केरुङसम्म जान नपाउँदा उधारोसमेत उठाउन नपाएको पौडेलले बताए ।

भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले स्थल नाकाबाट हुँदै आएको आयात–निर्यात व्यापारलाई निरुत्साहित गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको गुनासो छ । २०७२ को भूकम्पयता तातोपानी र रसुवागढी नाका धेरै पटक बन्द हुने र खुल्ने भए । भोटेकोसी–२ को तातोपानी नाका भूकम्पपछि भौतिक संरचनासँगै व्यापारिक रूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिरोको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले बन्द गराइ दियो ।

२० वर्षअघिदेखि चल्दै आएका १ हजार ४ सय मालवाहक कन्टेनर, २८ सय चालक र ५ हजार मजदुर बेरोजगार भए । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाका अनुसार बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा मापदण्डविपरीत अत्यधिक तौलमा ४० फिटको चिनियाँ कन्टेनरबाट सामाग्री आयात गरिएको छ ।  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत ताल फुट्ने र कोभिडको कारण देखाएर सरकारको गैरजिम्मेवारीकै कारण चीन पक्षले एकतर्फी आयात मात्रै खुलाएको बताउँछन । अहिले रसुवागढी नाकाबाट दैनिक १४ वटा चिनियाँ कन्टेनरबाट मात्र सामान आयात भइरहेको छ ।
गत जुलाई १४ मा नेपाली र चिनियाँ सरकारी अधिकारीले केरुङबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए । तर, सहमति अनुसार कहिलेदेखि आयात–निर्यात गर्ने भन्ने तोकिएको छैन । आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

Leave A Reply

Your email address will not be published.