Online News Portal

चीनको आर्थिक वृद्धि चालु आर्थिक वर्ष सन् २०२२ को दोस्रो त्रैमासिकमा सुस्त बन्न पुगेको तथ्यांक सार्वजनिक

208

चीनको आर्थिक वृद्धि चालु आर्थिक वर्ष सन् २०२२ को दोस्रो त्रैमासिकमा सुस्त बन्न पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

कोरोना भाइरसको पछिल्लो लहरका बेला शून्य कोभिड नीति अपनाउँदै चीनले विभिन्न ठूला सहरहरुमा लकडाउन गरेसँगै चीनको आर्थिक वृद्धि सुस्त बन्न पुगेको हो ।

गत फरवरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसबाट उत्पन्न विश्वव्यापी आर्थिक कठिनाइहरुका कारण चिनियाँ अर्थतन्त्र दबाबमा रहेको बताइन्छ ।

यो वर्षको अप्रिलदेखि जुन महिनासम्म चीनको कूल ग्राहस्थ उत्पादन केबल शून्य दशमलब ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

शुक्रबार प्रकाशित नयाँ तथ्यांकले चिनियाँ अर्थतन्त्रको धुमिल छवि प्रस्तुत गरेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् १९९२ मा चीनले तथ्यांक राख्न थालेयता यो त्रैमासिकमा दोस्रो सबैभन्दा सुस्त आर्थिक वृद्धि रेकर्ड गरिएको रोयटर्सले जनाएको छ ।

यसअघि कोरोना भाइरसको महामारीका बेला सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.९ प्रतिशतले संकुचित भएको थियो ।

रोयटर्सका अनुसार यो त्रैमासिकमा चीनको कूल ग्राहस्थ उत्पादन १ प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो । अघिल्लो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ४ दशमलब ८ प्रतिशतले वृद्धि भएको तथ्यांक प्रकाशित गरिएको थियो ।

चीनले यो वर्षको मार्च र अप्रिल महिनामा कोरोना भाइरसको नयाँ लहर देखिएसँगै मुलुकका विभिन्न मुख्य सहरमा लकडाउनको घोषणा गरेको थियो ।

लकडाउन लागू गरिएको चीनको मुख्य वित्तीय केन्द्र साङ्घाईको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा १३ दशमलब ७ प्रतिशतले संकुचित भएको छ । त्यस्तै, सोही अवधिमा राजधानी बेइजिङको वृद्धि २ दशमलब ९ प्रतिशतले संकुचित भएको छ ।

लकडाउन एवम् अन्य नीतिहरु फुकुवा गरिएको र जुन महिनाको तथ्यांकले सकारात्मक सुधार देखाएपनि तत्काल चीनको अर्थतन्त्रमा तीव्र गतिमा विस्तार नहुने विश्लेषकहरु बताउँछन् ।

शून्य कोभिड नीतिका कारण चीनको सम्पत्ति बजार समस्यामा रहेको र विश्वव्यापी अवस्था पनि नकारात्मक रहेको रोयटर्सले जनाएको छ।

Leave A Reply

Your email address will not be published.