Online News Portal

नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामग्री आयात रोकियो

272

काठमाडौ । नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामग्री आयात रोकिएको छ। रसुवा भन्सार कार्यालयका अनुसार गत शनिबारदेखि नाकाबाट सामग्री आयात रोकिएको हो।

नाकाबाट सामग्री आयात रोकिएको बारे चिनियाँ पक्षले कुनैपनि औपचारिक जानकारी नदिएको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए। ‘शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ।’ नाका बन्द भएपछि व्यापारी सम्पर्कमा नआएको उनले बताए। ‘पछिल्लो समय आयात पनि घटेको थियो’, उनले भने, ‘अहिले केरुङतर्फ केके सामग्री रोकिएका छन् भन्ने जानकारी आएको छैन।

चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा कोरोना देखिएकाले त्यहाँ लकडाउन भएको अनौपचारिक जानकारी आएको उनले बताए। कोभिड-१९ सुरु भएयता रसुवागढी नाका वान वे सञ्चालन हुँदै आएको छ।

नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हु्ँदै आएको थियो। केही समय पहिले नाकाबाट सामग्री आयात बढाउनका लागि दुवै देशका स्थानीय प्रशासन सहमत भएका थिए।

तर, चीनमा पुनः कोरोना बढ्न थालेपछि नाकाबाट सामग्री आयात रोकिएको हो। कोरोनाप्रति चिनियाँहरू निकै सचेत छन्। कोरोना सुरु हुनुअघि नेपाली व्यापारी सामान लिनका लागि चीनको केरुङसम्म जान पाउँथे। कोरोना सुरु भएपछि चिनियाँले सामग्री नेपालसम्म नै ल्याउन थालेका थिए।

बीचको समय नाकाबाट दैनिक १४ वटा चिनियाँ गाडीले सामग्री आयात गर्दै आएका थिए। तर, पछि सातदेखि १४ वटा चिनियाँ गाडीले मात्रै सामग्री आयात गरिरहेकामा नाका पुनः बन्द अवस्थामा पुगेको हो।

विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ माघ २५ गतेदेखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आएको भएपनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको थियो।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

यसैगरी तातोपानी नाकाबाट पनि बुधबारदेखि सामग्री आयात बन्द भएको छ। रसुवागढी नाकाबाट आयात बन्द भएको तीन दिनपछि तातोपानी नाकाबाट पनि आयात रोकिएको हो। यो नाकाबाट केही दिनअघिसम्म दुई कन्टेनर सामग्री आयात हुँदै आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.