उत्तरी छिमेकी चीनले सीमामा देखिएका समस्या समाधान गर्न नेपाललाई प्रस्ताव
उत्तरी छिमेकी चीनले सीमामा देखिएका समस्या समाधान गर्न नेपाललाई प्रस्ताव गरेको छ । तत्कालीन नेकपा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा चीनले सीमामा कुनै समस्या दाबी गरेर नेपालको सीमा मिचेर दादागिरी देखाएको थियो ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारको बलमा काठमाडौंस्थित चिनियाँ दूतावासले नै कुनै समस्या नभएको ठोकुवा गरेको थियो ।
स्वयं ओलीको कम्युनिस्ट सरकारले नै सीमामा विवाद नरहेको भनेर चीनको बचाउ गरेको थियो । तर अहिले पनि हुम्ला, गोरखालगायत जिल्लामा चीनसँग सीमा विवाद छ ।
चीनले सीमामा एकतर्फीरुपमा सीमा अतिक्रमण गर्ने, नदीको धार नै परिवर्तन गरिदिने गतिविधि गर्दै आएको छ । यी समस्याहरुलाई ढाकछोप गरेर ओली सरकारले चिनियाँ हस्तक्षेपकारी नीतिको बचाउ गरेका बेला अहिले भने चीनले आफै सीमामा समस्या रहेको स्वीकारेको छ ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको भ्रमणमा चीनले सीमामा भएका समस्या समाधानका लागि द्विपक्षीय सीमा निरीक्षणको प्रस्ताव गरेको हो ।
विगतमा समस्या नभएको भनेर पेल्ने चीनलाई मन्त्री खड्का र शेरबहादुर देउवा सरकारले स्वतन्त्र परराष्ट्र नीतिमा अडान लिँदै कुटनीतिक चलाखीपूर्ण ढंगले समस्या स्वीकार्ने अवस्थामा पुर्याएको हो ।
चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ समकक्षीले सीमामा समस्या रहेको स्वीकार्दै समाधान गर्न दुबै पक्षीय टोली गठन गर्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए ।
चीनले सीमा समस्या सुल्झाउन द्विपक्षीय समिति बनाउन गरेको प्रस्तावमा सहमति जनाएको छ । यससँगै संयुक्त रुपमा सीमा निरीक्षण गरेर सीमामा देखिएका विवाद समाधान हुनेछन् ।
हुम्लामा द्विपक्षीय सीमा निरीक्षण गर्न उतिबेला आवाज उठेको थियो । जसलाई चीन र ओली सरकार दुबैले अस्वीकार गरेका थिए ।
ओली सरकारले एकपक्षीय रुपमा अधिकारीहरु पठाएर समस्या नभएको दाबी गरेको थियो । तर अहिले यथार्थलाई चीनले स्वीकार गरेर निरीक्षणका लागि तयार भएको छ ।