Online News Portal

सी जिनपिङले चिनियाँ अर्थतन्त्रलाई कसरी सुदृढ बनाउन सक्छन् ?

156

एजेन्सी ।

यसै महिना हुने चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय अधिवेशनबाट सी जिनपिङ चिनियाँ इतिहासमै पहिलोपटक तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा छन् । आसन्न अधिवेशन सीको विगत १० वर्षको आर्थिक–नीतिहरूको गम्भीर समीक्षा गर्ने र अर्को कार्यकालमा आर्थिक कार्यसम्पादन सुधार गर्न केही स्पष्ट पहलकदमी पहिल्याउने उचित समय हो ।

सन् २०१२ मा सीले चीनको सर्वोच्च राजनीतिक पद सम्हाल्दा अर्थव्यवस्था फस्टाउँदै थियो, तर त्यहाँ थुप्रै गम्भीर समस्या पनि थिए । कुल गार्हस्थ उत्पादन (जिडिपी) एक दशकभन्दा बढी समयदेखि १० प्रतिशतको औसत वार्षिक दरमा वृद्धि भइरहेको थियो । तर, २००८ पछि वास्तवमा जिडिपी वृद्धिदर घट्दै र असमानता बढ्दै गएको थियो । सन् १९९० देखि सन् २००० को अवधिमा असमानता मापक गिनी सूचकांकमा १३ प्रतिशतले वृद्धि भएको थियो । शताब्दीको सुरुवातपछि चीनमा असमानताले सन् १९७८ पछि पहिलोपटक अमेरिकालाई उछिनेको थियो ।

यसैबीच, प्रदूषणले चीनलाई ‘मार्दै’ थियो । सन् २०१३ सम्म आइपुग्दा बेइजिङको हावामा धुुलोको कण (पिएम २.५)प्रति घनमिटर औसतमा १०२ माइक्रोग्राम पुगिसकेको थियो, जबकि ऐतिहासिक रूपमा वायु प्रदूषणका लागि परिचित सहर लस एन्जलसमा यस्तो प्रदूषण लगभग १५ माइक्रोग्राम थियो । चिनियाँ नागरिकमा मुुटुु तथा श्वासप्रश्वासजन्य रोग एवं प्रदूषणसँग सम्बन्धित मृत्यु बढ्दै गएको थियो । कारखाना, फार्म र खानीबाट उत्पन्न रसायनका कारण चीन जल प्रदूषणबाट पनि ग्रस्त थियो ।

अपूरणीय रूपमा जल प्रदूषणका कारण केही क्षेत्रमा पूरै गाउँ र सहरहरू नै सर्न बाध्य भए । चीनले बिस्तारै आफ्नो कार्यबल गुमाउँदै गएको थियो । प्रतिमहिला करिब ६ शिशुु रहेको ऐतिहासिक प्रजनन दर सन् १९७० को दशकबाट घट्न सुरु ग¥यो र सन् २००० मा आइपुग्दा प्रतिमहिला दुई सन्तानभन्दा तलको स्तरमा पुग्यो । सन् १९७० मा चीनको काम गर्ने उमेर समूहको जनसंख्या ८० प्रतिशत रहेकोमा सन् २०१२ मा आउँदा ३७ प्रतिशतमा संकुचित भयो । सन् १९७० मा ६५ वर्षभन्दा माथिको उमेरको जनसंख्या चार प्रतिशत रहेकोमा सन् २०१२ मा दोब्बरले बढेर आठ प्रतिशत भयो । यी प्रवृत्तिले चीन सरकारलाई अक्करमा धकेलेको थियो । तर, नीति निर्माताले समग्र जनसंख्याको वृद्धिलाई रोक्दै वृद्ध जनसंख्याको बढ्दो हिस्सालाई पाल्न युवा कामदारको आपूर्तिलाई पनि पर्याप्त रूपमा कायम राख्न आवश्यक थियो ।

सामाजिक असन्तुष्टि चुलिँदै गइरहेको थियो । भ्रष्टाचारबारेका गुनासा सन् १९९१–२०१२ को बीचमा दोब्बर भएका थिए । सन् २०१४ मा करिब १३ सयवटा मजदुर आन्दोलनको अभिलेख दर्ज भएकोमा सन् २०१६ मा २७ सय आन्दोलन दर्ज भयो । सत्तामा पुगेपछि राष्ट्रपति सीले यी चुनौतीको सामना गर्न ठूलो दुःख गर्नुप¥यो । तर पनि परिणाम मिश्रित छ । बेइजिङ र सांघाईजस्ता प्रमुख सहरहरूको प्रदूषण स्तर गत १० वर्षमा आधाले घटेको छ । असमानतासम्बन्धी चीनको गिनी सूचकांक अहिले फेरि अमेरिकाको भन्दा तल झरेको छ ।

अर्थात् चीनले असमानतालाई घटाएको छ । तर अन्य सूचकांक उतिसारो सकारात्मक छैनन् । सन् २०१२–२०२० को बीचमा चीनको वार्षिक वृद्धिदर स्थिर थियो । चीन सरकारले एक सन्तान नीति खारेज गर्दा पनि प्रजनन दर बढ्न सकेको छैन । आज ६५ वर्ष र सोभन्दा माथिका व्यक्तिको हिस्सा करिब १३ प्रतिशत कायम छ, जुन आधुनिक युगका लागि उच्चतम हो ।

तैपनि, विगत एक दशकका सबै उपलब्धि र असफलता सीको पाउमा राख्नु गलत हुनेछ । सीले सामना गरेका ठूला समस्या विरासतमा पाएका थिए, जुन चीनको यसअघिको तीव्र वृद्धि र राजनीतिक तथा आर्थिक इतिहासको अपरिहार्य परिणाम थिए । हुन त सीले यी समस्याको हल गर्ने केही नीतिगत समाधान पनि विरासतमा पाएका हुन् । चीनले सन् १९९४ देखि नै नवीकरणीय उद्योगमा लगानी गर्न थालिसकेको थियो । अघिल्ला सरकारले पनि गरिबी निराकरणका नीतिलाई जोड दिएका थिए ।

आधारभूत स्वास्थ्य बिमा कार्यक्रम सन् १९९८ बाट सहरी क्षेत्रमा र सन् २००३ बाट ग्रामीण क्षेत्रमा लगिएको थियो । सीले पदभार ग्रहण गर्नुभन्दा दुई वर्षअघिबाटै समग्र असमानता घट्न थालेको थियो । त्यसअघिका सरकारले पनि नियमित ढंगले भ्रष्टाचारविरोधी अभियान पछ्याएका थिए । सीले आफ्ना पूर्ववर्तीका थुप्रै नीतिगत पहलकदमीलाई जारी राखे, जसले सुधारलाई निरन्तरता दियो । सीको नेतृत्वमा सबैभन्दा धेरै परिवर्तन नीतिमा होइन, नीतिको कार्यान्वयनमा भएको छ ।

एक सन्तान नीति जस्ता केही अपवादबाहेक सन् १९७८ पछि चिनियाँ नीति–निर्माता सीभन्दा बढी सतर्क र विवेकशील थिए । ग्रामीण चुनावजस्ता महत्वपूर्ण परिवर्तन पहिले परीक्षण गरेर आश्वस्त भइसकेपछि मात्रै ‘राष्ट्रिय नीति’को रूपमा घोषणा गरिएका थिए । यही कारण चीनको राष्ट्रिय स्वास्थ्य नीतिजस्ता अत्यन्त जटिल पहल सफल भए । अनुभवका आधारमा नीतिहरूलाई समयानुकूल बनाउँदै लगियो । यी नीतिले सबैलाई समेट्दा त्यसको राजनीतिक लागत पनि न्यून रह्यो । सीले केही नीति पर्याप्त सोचविचार नगरी नै ल्याए । नीतिको मनसाय राम्रो भए पनि यस्तो तरिका आर्थिक रूपले हानिकारक देखिएको छ ।

सन् २०२१ को निजी ट्युसन कक्षाहरूमाथिको प्रतिबन्धलाई नै लिऔँ, जसको उद्देश्य चिनियाँ बालबालिकाको अध्ययनको बोझ घटाउनु र शैक्षिक असमानतालाई नियन्त्रण गर्नु थियो । यस्तो प्रतिबन्धले यो क्षेत्रमा भएको १०औँ अर्ब डलरको लगानी जोखिमा प¥यो, सेवाको कालोबजारी प्रोत्साहित भयो । यसको आर्थिक असर शिक्षाक्षेत्रभन्दा बाहिरसम्म प्रसार हुन पुग्यो । अप्रत्याशित नीति परिवर्तनको भयले सबै क्षेत्रमा भावी लगानीलाई निरुत्साहित गरेको छ ।

अर्को उदाहरण हो, राष्ट्रपति सीको शून्य कोभिड नीति । यो नीति खोप विकसित नभएको अवस्थामा कोरोना भाइरसको प्रसार रोक्न सफल भए पनि खोप आइसकेपछिको परिस्थितिका लागि प्रत्युपादक देखिएको छ । अन्य देश सामान्य ढंगले व्यापारमा फर्किए, तर चीन मुसा बिरालोको लुकाछिपीको अन्तहीन खेलमा फसेको देखिन्छ । यस्ता नीतिको चिनियाँ अर्थतन्त्रमा पर्ने प्रभावहरू स्पष्ट छन्– अधिकारीहरू आर्थिक नीतिका लक्ष्यहरूको सवालमा दृढ रहनुपर्छ, तर उनीहरूले नीति निर्माणको विधिलाई भने फेर्नुपर्छ । बिस्तारै र सावधानीपूर्ण सञ्चालनको विधिबाट चीनले ४० वर्षभन्दा बढी समयदेखि राम्रो प्रदर्शन गरिरहेको छ, अझै धेरै वर्ष सेवा दिन सक्छ ।

Leave A Reply

Your email address will not be published.