कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार
काठमाडौं ।
कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ तीन जना घाइते भएका छन् ।
स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय चार वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए । उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।
नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।