Online News Portal

सेना दिवसमा सहभागी हुन भारतका ५ पूर्वसेनाध्यक्ष आउँदै

99

नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा मनाउन लागिएको सैनिक दिवसमा भाग लिन भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउने भएका छन् । मंगलबार बेलुकीसम्म निम्तो गरिएकामध्ये भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे आउने पक्का भएको हो ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार अहिलेसम्म ५ जना आउने पक्का भइसकेको छ । ‘केहि दिन बाँकी छ, थप पनि आउन सक्नुहुन्छ,’ सैनिक प्रवक्ता भण्डारीले भने ।
सेना दिवसको अवसरमा नेपाली सेनाले मानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्न लागेको हो । त्यसका लागि भारतका वर्तमान र अवकाश सेनाध्यक्षहरूलाई बोलाइएको छ ।

नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यसपटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता भण्डारीले भने ।

मानार्थ महारथीहरू फागुन ५ मा आएर नेपालमा तीन दिन बिताउने कार्यक्रम छ । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा भारतका पूर्वसेनाध्यक्षहरू उपस्थित हुनेछन् ।
नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् ।

सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ । कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरूसहित नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू (भारतीय सेनाका मानार्थ महारथीहरू) को उपस्थिति हुनेछ ।

नेपाली सेनाले भारतका सेनाध्यक्ष मनोज पाण्डेसहित अवकाश प्राप्त सेनाध्यक्षहरू विश्वनाथ शर्मा, शंकर रोय चौधरी, सुन्दरारञ्जन पद्मनाभन, निर्मल चन्दर विज, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोजमुकुन्द नरवणेलाई निम्ता पठाएको छ । तीमध्ये मंगलबार बेलुकासम्म ५ जना आउने पक्का भएको हो ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाशप्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले भने पहिलो पटक गर्न लागेको प्रवक्ता भण्डारीले बताए । ‘एक दर्जन मानार्थ महारथीहरूलाई निम्तो पठाइएको छ, भारतबाट पाँच जनाबाहेक अरु को–को आउनुहुन्छ भन्ने चाहिँ अझै टुंगो लाग्न बाँकी छ,’ उनले भने ।

सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए । उक्त परम्पराअनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.