Online News Portal

भारतमा थोक महँगीदर घटेर २५ महीनायताकै न्युन विन्दुमा

149

नयाँदिल्ली (भारत) । भारतमा थोक महँगी दर सुस्ताउने क्रमले फेब्रुअरीमा पनि निरन्तरता पाएको छ । वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा आधारित सूचकांक (डब्ल्यूपीआई) फेब्रुअरीमा घटेर ३ दशमलव ८५ प्रतिशतमा ओर्लिएको छ ।

डब्ल्यूपीआई सूचकमा आएको मासिक कमीको दर पनि अघिल्लो महीनाको भन्दा धेरै छ । जनवरीमा अघिल्लो महीनाको तुलनामा कमी शून्य दशमलव १३ प्रतिशत थियो भने फेब्रअुरीमा यो दर शून्य दशमलव २० प्रतिशतले घटेको छ । पछिल्लो कमीसँगै डब्ल्यूपीआई २५ महीनायताकै न्यून स्तरमा ओर्लिएको छ ।  गएको महीना डब्ल्यूपीआई दर खासगरी कच्चा तेल र प्राकृतिक ग्यास, गैरखाद्य वस्तु, खाद्य वस्तु, खनिज, कम्प्युटर, इलेक्टोनिक्स र अप्टिकल प्रडक्ट, केमिकल र केमिकल प्रडक्ट, इलेक्ट्रिकल उपकरण र सवारी साधन आदिको भाउमा आएको कमीका कारण घटेको हो ।

थोक मूल्यमा आएको कमीले कम्पनीहरूको कमाइमा परेको चाप पनि कम गर्न सक्ने देखिएको छ । यसले थोक महँगी पनि घटाउनेछ । कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासको थोक महँगी अघिल्लो महीनाको २३ दशमलव ७९ प्रतिशतले घटेर १४ दशमलव ४७ प्रतिशतमा झरेको छ ।  गएको वर्ष मेमा भारतको डब्ल्यूपीआई १९९१ को सेप्टेम्बरयताकै उच्च विन्दु १५ दशमलव ८८ प्रतिशतमा उक्लिएको थियो । जनवरीमा डब्ल्यूपीआई २४ महीनाकै न्यून स्तरमा थियो । भारतमा महँगी मापन गर्न दुई ओटा सूचक प्रयोग गरिन्छ ।

एउटा डब्ल्यूपीआई हो भने अर्कोचाहिँ उपभोक्ता मूल्य सूचक (सीपीआई) हो । डब्ल्यूपीआईमा उत्पादनको स्तर, कम्पनीहरूबीच हुने वस्तु विनिमयमा मूल्य हेरिन्छ । सीपीआईमा भने खुद्रा उपभोक्ता स्तरमा मूल्य हेरिन्छ । भारतमा थोक महँगीदर घट्दा त्यसको प्रभाव नेपालमा पनि पर्छ । नेपालले अधिकांस वस्तु भारतबाटै आयात गर्ने भएकाले नेपालमा आउने सामान सस्तो हुनेछन् । त्यसकारण भारतमा थोक महँगीदर घट्दा नेपालमा पनि महँगी घटाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

Leave A Reply

Your email address will not be published.