अरुण कुश्वाहा
वीरगन्ज (पर्सा), १८ बैशाख ।
वीरगन्जमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त हुनुका साथैं दिनहुँ जामको समस्या झेल्नु परेको छ भने जथाभावी भाडा असुली गर्दा उपभोक्ता मर्कामा पर्ने गरेको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक व्यवस्थापनको लागि खटेका ट्राफिक प्रहरी पैसा असुल्नमा व्यस्त भएपछि महानगरमा सवारी जामको समस्या उत्पन्न भएको हो । महानगरको ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरी खट्नुपर्नेमा पैसाको खाँचो भएपछि ‘जहाँ मन लाग्यो त्यही छड्के चेकजाँचको नाममा पैसा असुल्न थाल्ने कार्य शुरु गर्न थालेको गुनासो उठेको छ । महानगरको चोक चोकमा ड्युटीमा खटेका ट्राफिक प्रहरी आफ्नो ड्युटी भन्दा पनि छेउको पसलमा गएर कुराकानी गर्ने गरेको कारण महानगरको ‘वन रुट’ को पनि ठाडो उल्लंघन हुने गरेको पाइएको छ ।
त्यसैगरि ट्राफिक प्रहरी अहिले ड्राइपोर्ट चोक, पावरहाउस चोक, नगवा चोक, लक्ष्मणवा चोक लगायतको स्थानमा जुन बेला मन लागे आफ्नो व्यापार संचालन गरेझै चेकजाँच गर्न थाल्ने र पैसा असुल्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको हो । वीरगंजबासीले अहिले दिनहुँ ई–रिक्सा, टेम्पो, रिक्सा लगायतको सवारी साधनको जामबाट ग्रसित भएका छन् । विहानदेखि बेलुकासम्म जथाभावी रुपमा ई–रिक्सा, टेम्पोहरु महानगरमा संचालन भइरहेकोले महानगरमा दिनहुँ जामको समस्या उत्पन्न हुने गरेको छ ।
ई–रिक्सा संचालनको लागि कुनै किसिमको मापदण्ड पनि बन्न नसकेकोले युवादेखि वृद्धवृद्धा तथा साना साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाई रहेकोले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्यालाई नित्म्याइ रहेको छ । वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १० बजेदेखि बेलुका ७ बजेसम्म ट्राफिक जामको समस्या हुने गरेको छ ।
वीरगन्ज महानगरलाई ई–रिक्साले अस्त व्यस्त बनाएको चौतर्फि रुपमा दबाब आउन थालेपछि विगत तीन वर्ष अघि लाइसेन्स विनाको ई–रिक्सा चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो तर त्यो कार्यान्वय हुन नसक्दा अहिले पुनः वीरगन्जमा ई–रिक्साहरुको विगविगी भएको छ । नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढि ई–रिक्साहरु संचालनमा आएपछि अहिले महानगरको कुना कप्चामा पनि ट्राफिक जाम लाग्ने गरेको छ ।
विगतमा वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वीमनपा र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरि ४ सय ५० ई–रिक्सा भित्र्याउने सहमति भएको थियो । तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ४ देखि ५ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु संचालनमा छन् । वीरगन्ज महानगरपालिका कार्यालयमा ३ सय ३९ वटा ई–रिक्साहरु मात्रै दर्ता भएका छन् भने ९० प्रतिशत भन्दा बढि ई–रिक्साहरु मापदण्ड विपरित संचालनमा छन् ।
यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरि लाइसेन्सको फारम समेत भरेनन् । यातायात कार्यालयबाट अहिलेसम्म ३५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् । विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्ड भित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा संचालित ई–रिक्साहरुलाई मापदण्ड भित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ तर कसैले रुटको पालना गरेको पाइएको छ ।
अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा संचालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिकाको भनाई छ । रुट कायम भएपनि कार्यान्वयन हुन नसक्नु र दररेट कायम हुन नसकेको कारण ई–रिक्सा चालकहरुले उपभोक्तासँग मनोमानी रुपमा भाडा असुली रहेका छन् । वीरगन्ज बजारमा मात्रै आवत जावत गर्नका लागि उपभोक्तासँगै कसैले १० रुपैया लिने गरेको छ भने कसैले २०, ३० रुपैयासम्म लिने गरेका छन् । महानगरपालिको ई–रिक्सा व्यवस्थापनको लागि मापदण्ड बनाउन कुनै गृहकार्य नै गर्न सकेको छैन ।