चिनियाँ बिस्तार नितिको भारतद्वारा बिरोध , नेपालको चुच्चे नक्सा स्वीकार गरेन चीनले
चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’ माथि कडा विरोध जनाएको बताएका हुन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा एक बयान पनि जारी गरेका छन् ।
बयानमा भनिएको छ, ‘चीनको तथाकथित २०२३ को ‘स्ट्यान्डर्ड म्याप’ मा भारतको क्षेत्रमाथि दाबी गरिएको छ, त्यसमाथि हामीले कूटनीतिक च्यानलमार्फत कडा विरोध जनाएका छौँ ।’
‘हामी यस्तो आधारहीन दाबीलाई खारेज गर्छौँ । चिनियाँ पक्षको तर्फबाट यस्तो कदमले सीमाको समस्यालाई सुल्झाउनुको साटो थप अल्झाउनेछ ।’ यसैगरी छिमेकी राष्ट्र चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सालाई मान्यता नदिएको पाइएको छ । सो नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएको हो । चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा देखिएको नेपालको नक्सामा नेपालको चुच्चे भाग गायब छ । नेपालले २०७७ साल जेटमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो । सुगौली सन्धिअनुसार काली नदी र त्योभन्दा पूर्वको भूभागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो । सरकारले ती भूभागहरूलाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो ।
अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।