चीनको दबावमा पाकिस्तान ईरान सामु झुक्न बाध्य
रोयटर्स, इस्लामाबाद । चीनको दबाबमा झुकेर पाकिस्तानले इरानसँग चार दिनभित्र सबै क्षेत्रमा मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ । पाकिस्तानको कार्यवाहक सरकारका विदेशमन्त्री जलील अब्बास जिलानीले शुक्रबार साँझ आफ्ना इरानी समकक्षी हुसेन आमिर अब्दुल्लाहियानसँग टेलिफोन वार्तामा आफ्नो देशको इच्छा व्यक्त गरे। यसअघि पाकिस्तान सरकारको क्याबिनेटले इरानसँगको गतिरोध अन्त्य गर्ने निर्णय गरेको थियो।
कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले इरानसँग विगतमा जस्तै कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान इस्लामावादमा भएको देशको राजनीतिक र सैन्य नेतृत्वका उच्च पदस्थ व्यक्तिको बैठकमा इरानसँगको सम्बन्धमा तनाव नबढाउने निर्णय गरिएको हो । बैठकमा दुवै देशले सैन्य अखडा वा नागरिक लक्ष्यमा नभई आतंकवादी लुकेका ठाउँमा आक्रमण गरेको बताइएको छ । त्यसैले विवादलाई लम्ब्याउने कामबाट जोगिनुपर्छ ।
बैठकमा पछिल्लो अवस्था, यसको दूरगामी परिणाम र क्षेत्रीय अवस्थाका बारेमा विस्तृत छलफल भएको थियो । कार्यवाहक प्रधानमन्त्री कक्कडको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा तीनै सेनाका प्रमुखको पनि सहभागिता रहेको थियो । यसअघि बिहीबार इरानले छिमेकी राष्ट्र पाकिस्तानसँग राम्रो सम्बन्ध चाहेको बताएको थियो । मंगलबार राति पाकिस्तानी सीमा क्षेत्रमा इरानले गरेको आक्रमण र बिहीबार बिहान पाकिस्तानको जवाफी हमलापछि दुई देशबीच तनावको अवस्था सिर्जना भएको थियो । यी आक्रमणमा दुवै देशले बलुच चरमपन्थीका तीन संगठनलाई निशाना बनाएका थिए। यी संगठनहरू इरानको सिस्तान प्रान्त र पाकिस्तानको बलुचिस्तान प्रान्तलाई विलय गरेर स्वतन्त्र देश बनाउन चाहन्छन्।