कांग्रेस बैठकमा कँडेलको आरोप : चीनबाट क्विन्टल सुन छिर्छ, भारतबाट सय रुपैयाँको सामानमा पनि भन्सार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले तराई-मधेशलाई विभेद गर्ने गरी राज्यले शासन व्यवस्था चलाइरहेको बताएका छन्।
‘उत्तरबाट किलोमा होइन क्विन्टलमा सुन तस्करी हुँदा केही हुन्। तर दक्षिणबाट सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार लगाइन्छ’, उनले भने, ‘मधेश जहिले पनि अपहेलित भयो। अहिले मुलुकमा दुईवटा कानुन छन्। एउटै देशमा दुई कानुन छन्। मधेशमा कानुन फरक छ अन्त फरक छ।’
उनले सय रुपैयाँमा कात्रो पनि नआउने अवस्थामा भन्सार लगाइएको बताए। ‘सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाइएको छ। सयमा कात्रो र कफन पनि आउन्न’, उनले भने, ‘चीनबाट आउने विभिन्न नाकाबाट ठूलो मात्रामा सामान आउँछ। लाखौँको सामान आउँछ। विमानस्थलका भन्सारहरुमा दुइटा मोबाइल र टीभी लत्ताकपडा ल्याउन दिन्छन्। तर भारतबाट आउनेलाई कसिन्छ।’
उनले भारतका दिल्ली र पञ्जाबसहितमा काम गर्नेले सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार लाग्ने गरेको बताए। कँडेलले चीन र विमानस्थलबाट आउनेलाई भने सरकारको कानुनले नछोएको तर्क गरे।