ओलीसँग संसद् अवरोधको बदला लिन गिरीबन्धु टी स्टेटको फाइल खोल्ने प्रचण्डको धम्की
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग कतिसम्म आक्रोशित रहेछन् भन्ने कुरा मंगलबार केही मिडियाका सम्पादकहरूसँग उनले गरेको कुराकानीबाट थाहा हुन्छ ।
सम्पादकहरूसँग खुलेर कुराकानी गरेका प्रचण्ड एमालेको कार्यशैलीप्रति निकै रिसाए । प्रचण्डले केपी ओलीमा विगतमा संसद् विघटन गरेको धङधङी अझै गइनसकेको संसद् अवरोध गरेबाट पुष्टि हुने बताए ।
सरकारले प्रमुख प्रतिपक्षीसँग धेरै लचिलो भएर तीनवटा संसदीय समितिका सभापति दिने सहमति गर्यो । यहीँबाट सभामुखलाई पनि फोन गरियो । शेरबहादुरजी, केपी ओलीजीले पनि सुनिरहनुभएको छ । तर, बानेश्वर पुगेपछि अवरोध कायमै छ ।
यसमा हिजोको संसद् विघटनवाला मनस्थितिले पनि काम गरेको छ । त्यसकै निरन्तरता हो जस्तो लाग्छ । उहाँहरूको मनसाय नै सदन नचले हुन्छ भन्ने छ । राज्यका संयन्त्रहरूलाई ‘डिरेल’ गरेर अन्तै पुर्याउने षड्यन्त्र हुँदै छ । तर, त्यसलाई सफल हुन दिइन्न,’ प्रचण्डले भने ।
प्रचण्डले अहिले सुनकाण्डको छानबिन भइरहँदा एमालेलाई किन टाउको दुःखेको हो भन्ने आफूहरूले थाहा पाउन नसकेको पनि बताए ।
सुन काण्डबारे छानबिन गर्न सरकारले भारत, चीन र इन्टरपोलसँग सहयोग मागेको उनको दाबी थियो । ‘सुन काण्डमा अरु देशका नागरिकहरु पनि जोडिएका छन्। अनुसन्धानका लागि सरकारले चीन र भारतको पनि सहयोग चाहिएको छ। हामीले दुवै मुलुकहरुसँगै इन्टरपोलसँग पनि छानबिनको सहयोगका लागि आग्रह गरेका छौँ,’ उनले भने, ‘दुर्भाग्य राम्रो काम गर्दा सहयोग त परको कुरा विपक्षी संसद् विघटनको मानसिकताबाट अवरोध गरिरहेको छ।’
प्रचण्डले एमाले अध्यक्ष ओलीको नाम नलिए पनि उनले ‘संसद विघटनको मानसिकता’ बाट बाहिर आउन नसकेको भन्दै ओली जोडिएका विषयमा पनि छानबिन गर्ने संकेत गरे। प्रचण्डले गिरिबन्धु टी स्टेट प्रकरणलाई पनि छानबिनको दायरामा ल्याउने उल्लेख गरे।
‘ललिता निवास प्रकरणलाई अवसरको रुपमा लिएका छौँ। देशभरका सरकारी जग्गाको प्रतिक्रमणलाई रोक्न सरकार तयार छ। गिरिबन्धु स्टेटको पनि कुरा छ। त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। ललिता निवास मात्रै होइन,’ उनको भनाइ थियो ।
भूमाफिया र जग्गा दलालहरुको योजनामा झापाको अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेको हदबन्दीभन्दा बढीको ३४३ विघा जग्गा बेचविखन गर्नकै लागि तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले भूमि ऐनको १८औँ संशोधन गराएको थियो ।
तत्कालीन भूमिसुधारमन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएका थिए । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन ब्राण्डको दुई करोडको गाडी उपहार दिएकोसमेत समाचार आएको थियो ।
टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएका थिए । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन ब्राण्डको दुई करोडको गाडी उपहार दिएकोसमेत समाचार आएको थियो ।
माओवादी प्रदेश सांसद इन्द्रबहादुर आङ्बोका अनुसार झापाबाट मात्रै केपी ओली सरकारलाई घुस बुझाउन एक अर्बभन्दा बढी रकम उठाइएको थियो । सोही कारण ओलीलाई गलाउन अहिले प्रचण्डले गिरीबन्धु टीस्टेटको फाइल खोल्ने चेतावनी दिएका हुन् । मिडिया डबली