काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए । उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीचा जसपाको बैठक बोलाइएको हो ।
चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ती
काठमाडौं, १६ असार । पछिल्लो समय चीनले नेपालको आन्तरिक मामिलाका एकपछि अर्को अभिव्यक्ति दिन थालेको छ। नेपाल सरकारले एसपीपी खारेज गर्ने निर्णय गरेपछि चीनले त्यसको प्रशंसा गरेको छ । यसअघि एमसीसीको विषयमा पनि अमेरिकी अनुदान सहायता नलिन दबाब दिएको थियो।
चीनको यस्तो गतिविधिप्रति नेपालका कूटनीतिज्ञहरुले आपत्ति जनाएका छन्। भारतका लागि पूर्वराजदूत भेषबहादुर थापाले नेपालले एसपीपी खारेज गर्ने निर्णयप्रति चीनले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आलोचना गरेका छन्।
उनले यसलाई चीनको कूटनीतिक मूल्य मान्यताको उल्लंघन गरेकोसमेत बताएका छन्। उनले चीनले पछिल्लो समय नेपाल र अमेरिकाको आन्तरिक मामिलामा अभिव्यक्ति दिनु गम्भीर भएको बताएका छन्। उनले भने, ‘चीनको पछिल्लो कदमले नेपालको कूटनीति पनि शंकाको घेरामा परेको छ। नेपालका अधिकारीहरुसँग विविध विषयमा चिनियाँ पक्षले अविश्वास गरेको देखिन्छ।’
नेपालका राजनीतिक दलका नेताहरु महत्वपूर्ण राष्ट्रिय मुद्दामा विभाजित हुने भएका कारण पनि अन्य मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको देखिन्छ। अन्य मुलुकलाई बोल्न नदिनका लागि नेपालका नेताहरुले एकताबद्ध भएर आन्तरिक मामिलामा नबोल्न भन्न सक्नुपर्ने उनले बताएका छन्।
कुनै पनि मुलुकले गर्ने यस्ता टिप्पणीहरु बन्द गराउन नेपालले ठूलो राजनीतिक र कूटनीतिक मिहनेत गर्नुपर्ने उनको भनाइ छ। उनले एमसीसी चीनको विपक्ष र बीआईआई अमेरिकाको विरुद्धमा नभएको बताएका छन्।
उनले भने, ‘यस्ता कुराहरुमा सम्पूर्ण राजनीतिक दलहरुले सहमति गरेर साझा धारणा बनाउनुपर्ने छ। भूराजनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालका राजनीतिक दलहरुले राष्ट्रिय सहमति गरेर राष्ट्रिय मुद्दाहरुमा साझा धारणा नबनाएको अवस्थामा सहज हुने देखिँदैन।’
पछिल्लो समय चीनले गोरखामा दशगजा सीमा क्षेत्रमा तारबार लगाएको कुरा बाहिरिएको थियो। यस विषयमा कम्युनिस्ट नेताहरुले बोलेका छैनन्।
……
भारतमा कन्हैयालालका हत्यामा संगलग्न अपराधीहरुकाे पाकिस्तान कनेक्सन
काठमाडौं । केही दिन पहिला भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एउटा हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले समप्रदायिक तनाव बढेको छ ।
धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल नाम गरेका स्थानीय दर्जीलाई मंगलबार दुई मुस्लिम पुरुषले हत्या गरेका थिए । हत्याको भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे हाे । ती दुई जनाले अर्को भिडियोमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । ती दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मुहम्मदको विषयमा गरेको टिप्पणीको बदला लिन हिन्दू दर्जीको हत्या गरिको बताएकी छन् । हत्याको विरोधमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशंका गरिएको छ । राज्य सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने ठूला जमघटमा प्रतिबन्ध लगाएको छ ।
हत्या र धम्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा प्रसारण नगर्न पनि प्रहरीले सचेत गराएकाे छ । नुपुर शर्माको टिप्पणीलाई समर्थन गरेको आरोपमा तीन साता पहिले कन्हैया लाललाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर उनी रिहा भएलगत्तै उनको पसलमा लुगा सिलाउने बहानमा पुगेकाहरूले पसलमै आक्रमण गरी हत्या गरेका थिए ।
साे हत्याकाे घटनालाई गम्भीरताका साथ अध्ययन गरिरहेकाे भारतकाे राष्ट्रिय सुरक्षा एजेन्सी र राजस्थानका गृहमन्त्रीले दुुवै हत्याराहरुकाे सम्बन्ध पाकिस्तानसंग भएकाे केही दिन पहिला फर्केर आएकाे भारतीय संचार माध्यमहरुले जनाएका छन ।
भारतका विभिन्न मुस्लिम संघ संगठनहरूले पनि हत्याको निन्दा गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।