Online News Portal

दमक क्लिनपार्क संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र

238

झापा , साउन १९ । दमक क्लिनपार्क संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

मुआब्जा विवादलाई लिएर लामो समयदेखि आन्दोलनरत दमक क्लिनपार्क संघर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई , प्रतिनिधिसभा सदस्य महेन्द्राकुमारी लिम्बू , दमक नगरपालिका नगर प्रमुख राम थापा,उपप्रमुख रेगिना भट्टराई , माओवादी नेता गगन पुरी , प्रकाश थापालगायतको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

यसअघि गत पुषमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएपनि माग सम्बोधन हुन सकेन । संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा क्लिनपार्क पीडितको आवाज सुनुवाई गर्नुपर्ने, पार्कको वास्तविकता सार्वजनिक गर्नुपर्ने ,पार्क निर्माणको काम पारदर्शी हुनुपर्ने ,पार्क सञ्चालनमा सर्वदलीय समिति गठन गरिनुपर्ने , जग्गाधनीसंग वार्ता गरी क्षतिपूर्तिको समस्या समाधान हुनुपर्ने ,क्लिनपार्कमा के के निर्माण हुने हो त्यसबारे श्वेतपत्र जारी गर्नुपर्ने ,नेपाल– चिन औद्योगिक पार्क के हो ? यसको वास्तविकता सबै जनतासामु खुलाउनु पर्ने उल्लेख गरिएको छ ।

चिन सरकारको लगानीमा दमक नगरपालिका,कमल गाउँपालिका र गौरादह नगरपालिकामा निर्माण भईरहेको चिनमैत्री औद्योगिक पार्क, दमक क्लिनपार्क निर्माणमा जग्गाधनीलाई उचित मुआब्जा नदिएको र वितरणमा वैज्ञानिकता नभएको भन्दै विभिन्न माग राखेर संघर्ष समितिले स्थानीय सरकारदेखि जिल्ला प्रशासन , प्रदेश सरकार हँुदै संघीय सरकारसम्मलाई ध्यानाकर्षण गराईसकेको छ ।

तत्कालीन सरकारले पार्क निर्माणको क्रममा स्थानीय बासिन्दालाई अन्याय गरेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र त्यसका घटकले चरणबद्ध आन्दोलन समेत गरेका थिए ।क्लिनपार्कमा हजारौ बिघा जमिनलाई न्यून मूल्य कायम गरि बसोबास गरिरहेका जनतालाई सुकुम्बासी बनाउने षड्यन्त्रविरुद्ध उनीहरु आन्दोलित बनेका थिए । भौगोलिक विविधतालाई बेवास्ता गर्दै आदिवासी जनजातिले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयास हुन थालेकोले मञ्चलगायत लिम्बुवान घटकले सुरुबाट नै यसप्रति आपति जनाउँदै आएका थिए। पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीको क्षेत्रमा बन्न लागेको उक्त क्लिनपार्कमा जग्गाधनीहरुले सरकारी मुआब्जा मूल्यांकन समितिले स्थानीय बासिन्दासंग छलफल नै नगरी एकलौटी रुपमा जग्गाको मूल्यांकन गरिएको आरोप लगाउँदै आईरहेका छन् । दमक क्लिनपार्क संघर्ष समितिले पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सरकारका सबै निकायमा ज्ञापनपत्र बुझाएको तर, कहीँबाट पनि आफ्नो मागको सम्बोधन नभएको संघर्ष समितिका अध्यक्ष भट्टराईले गुनासो गरे । संघर्ष समितिले जग्गाको मुआब्जाको मूल्य निर्धारण र आफ्नो मागको विषयमा सुनुवाई नभएकोले आन्दोलनलाई थप सशक्त बनाउने अध्यक्ष भटराईले जानकारी दिए ।

संघर्ष समितिको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँण र उद्योग सचिव अर्जुनप्रसाद पोखरेलसंग भेट गरि क्लिनपार्कको मुआब्जा निर्धारणमा गल्ती गरिएकाले पुनः मुआब्जा निर्धारण गरिदिन र दमक आद्योगिक पार्कका पीडितहरुको माग सम्बोधन गरिदिन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.