चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन
चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले संभावित उमेद्वारहरुले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् ।
बैठकले सिट बाँडफँट नटुंगिएपछि सोमबार पुनः बैठक बस्ने गरी सकिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । छलफल गरेर निष्कर्षमा पुग्ने भनिए पनि आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्रै पेश गरिएको खनालले बताउनुभयो । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको उहाँको भनाइ छ । ‘कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा रिपोर्टिङ भयो’, खनालले भन्नुभयो, ‘सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने र सिट बाँडफाँटको टुंगो लगाइने छ ।’
तर, लामो समयदेखि सिट बाँडफाँटको मापदण्डमै शीर्ष दलका नेताहरु अल्झिएका कारण अहिले नै मिल्ने कुरा शंकाको घेरामा छ । छलफलको सुरुवातीमै नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । उक्त बटमलाइनबाट कोही पनि पछि हटेका छैनन् । गठबन्धन दलहरुबीच २०७४ मा जुन दलले जितेको त्यसैलाई छाड्ने र एमालेले जितेका क्षेत्रमा भागबण्डा गर्ने गरी कांग्रेस बाहेकका दलहरुको धारणा छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।