चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द
काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो ।
सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल गए । उनको सुरक्षाको लागि कोटेश्वर-बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित भयो ।
अघिल्लो पटकको जाम राम्ररी नखुल्दै फेरि रोकिएका गाडीले बल्खुचोक, कलंकी, रत्नपार्क, कोटेश्वर, पुरानो बानेश्वरमा अस्तव्यस्त भएको एक ट्राफिक प्रहरीले बताए । ली संसद भवन छिरेपछि रोकिएको ट्राफिक जाम केहीबेर खुलेको थियो । संसदमा सभामुख अग्निप्रसाद सापकोटासँगको भेटपछि ली फेरि सोल्टी होटल फर्किँदा यो रुटमा फेरि सडक यातायात अवरुद्ध गरियो ।