Online News Portal

चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन

111

ताप्लेजुङ — फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पा याकचौंरी व्यवसाय गर्थे । साना किनेर बयस्क बनाउदै भारी बोकाउने र बेच्ने व्यवसाय राम्रै चलिरहेको थियो । एउटै याकको मूल्य ८० हजारदेखि एक लाखसम्म पुग्दा उनी व्यवसायमा मस्त थिए । तर, कोरोना संक्रमण लगत्तै बन्द भएको चिनियाँ नाका अहिलेसम्म नखुल्दा उनको व्यवसाय चौपट भएको छ । याकलाई खुवाउने नुनसमेत ल्याउन नपाउँदा उनलाई झनै समस्या भएको छ ।

गलैंचा बुनेर बिक्री गर्ने यहाँकी याङगी शेर्पाका पनि हात सुस्ताउन थालेका छन् । दिनहुँ तानमा बसेर ओलाङचुङगोला, ताप्लेजुङ, तिब्बत जस्ता नाम लेखेर एकरङ्गे र बहुरंगी बुन्ने उनलाई गलैंचाको खातले अत्याइरहन्छ । सादा, भगवान् बुद्धको तस्बिर, विभिन्न जनावरका चित्र अंकित गलैंचा कोठामा थन्किएका छन् । घरको तलामा एकमाथि अर्को बेरेर राखेका गलैंचा मुसाले काट्ने र चिसोले बिग्रिने डर भइरहन्छ । उनी तानमा बस्नुपर्ने समयमा कहिलेकाहिँ ओल्टाई पल्टाइ गर्ने, टकटक्याउने गरिरन्छिन् ।

टिप्ताला भञ्ज्याङ नाका बन्द हुँदा पशुपालन गर्ने नुपु र गलैचा बुन्ने याङगी मात्रै नभएर यहाका हरेक नागरिक समस्यामा छन् । यसै वडा अध्यक्ष छेतेन शेर्पा लामा चरनभरि चौंरी, याक, घरभरी गलैंचा भएको बताउँछन् । यसबाहेक तीन वर्षदेखि यहा जडिबुटी संकलन हुन पाएको छैन ।

आलुबाहेक एक दाना पनि अन्नबाली उत्पादन नहुने ओलाङचुङगोला र याङमावासीको मुख्य पेसा भनेकै जडिबुटी, पशुपालन र गलैंचा बुनाइ हो । ‘खर्कभरी चौंरी र घरभरि गलैंचा देख्दा आनन्द त आउँदो रहेछ,’ लामाले थपे, ‘तर आउने जाने क्रम चलेन भने त एकैपटक भान्सामै असर पुग्ने रहेछ ।’ गोठालाका दुःख र गलैंचा बुन्नेका पीडा सुन्दा सोच्न बाध्य हुने बताउँछन् । छेतेनका अनुसार गोलाको बस्तीमा मात्रै एक हजार बढी गलैंचा थुप्रिएका छन् ।

गलैंचा बुन्ने चुङगाले भनिन्, ‘बिक्री गर्न नपाउँदा धागो ल्याउने पैसा छैन, बने पछि बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । बिक्री भए पनि मूल्य कस्तो आउँछ भन्ने पनि छ ।’ लामो समय सामान उता नजाँदा तिब्बती आफैंले बुन्न थालेर हाम्रो नबिक्ला कि भन्ने चिन्ता यहाँका महिलामा देखिएको छ । नेपालमा खासै बिक्री नहुने गलैंचा तिब्बती बजारमा अधिक बिक्री हुने गरेको थियो । एउटा गलैंचालाई त्यहाँका बासिन्दाले १८ हजार रुपैयाँसम्म लगाउन थालेको गलैंचा निर्यात गर्ने टाँसी शेर्पा भोटे बताउँछन् । उनका अनुसार तुलनात्मक रूपमा सस्तो भएकोले धागोलगायतका कच्चा पदार्थ पनि उतैबाट ल्याउन थालेका थिए ।

ओलाङचुङगोलाबाहेक याङमा, लेलेप, फले, ग्याब्ला, घुन्साका महिला पनि गलैंचा बुन्छन् । उनीहरूको पनि बजार तिब्बत नै हो । सबैतिर गरी दुई हजारको हाराहारीमा हुन सक्ने वडाध्यक्ष छेतेन बताउँछन् । एकै ठाउँ झुरुप्प बस्ती रहेको ओलाङचुङगोलामा ५२ घर छन् । तीमध्ये ३७ घरमा गलैंचाको तान छ । ‘सबै घरमा महिलाहरू प्रायः बुन्छन्,’ वडा कार्यालयका कर्मचारी तेञ्जिङ वालुङले भने, ‘कसैले आमा, छोरी, बुहारी सबै भएर व्यावसायिक रुपमै बुन्छन् ।’ तीन/चारवटा घरले खेताला लगाएर पनि बुन्ने गरे पनि बिक्री नभएपछि अहिले छोडेका छन् ।

वडाध्यक्ष छेतेन नेपालले बिक्री गर्ने सामान एकैपटक मात्रै भए पनि कारोबार गर्न नाका खुला गरिदिन अनुरोध गरेको बताउँछन् । ‘व्यापारका लागि एकमहिने शिविर मात्रै चलाइदिए पनि हुन्छ,’ छेतेनले भने, ‘तिब्बत प्रशासनलाई पनि भन्यौं, गाउँपालिकाबाट नेपाल सरकारलाई पनि अनुरोध गर्यौ तर खै हुँदै हुँदैन ।’ यसरी शिविर चलाए सिमावर्ती क्षेत्रका बासिन्दाले गलैंचा, चौंरी, याक, छुर्पी, घिउ, जडिबुटी बेचेर पशुपालनका लागि नुन, पिठो ल्याउने बताउँछन् । पशुपालनको मुख्य समस्या नुनमा छ । नेपाली नुन चर्को हुने भएकाले पशुपालकहरू तिब्बतको नुन खुवाउँछन् ।

नेपालको नुनले रौं झर्ने, छाला खुइलिनेजस्ता समस्या देखिएको उनीहरूको अनुभव छ । हमेसा एउटा मात्रै नकिन्ने र जोडी गलैंचा किन्ने भएकाले तिब्बतमा धेरै गलैंचा खपत हुन्छ । गोलाका महिलाले पनि जोडी हुने गरी फरक रङ हालेर गलैंचा बुनेका हुन्छन् । यहाँबाट चिराइतो, कुट्की, बिख्मा जस्ता जडिबुटी तिब्बत जाने गरेको थियो । सन् २०१९ मा चीनको वुहान प्रान्तमा कोरोना देखिनासाथ बन्द भएको नाका त्यसयता नेपालीले प्रयोग गर्न पाएका छैनन् । चीनले भने तीन पटक स्वास्थ्य सामग्री, खाद्यान्न सिमानामा ल्याएर झारिदिएको थियो । ईकान्तिपुर बाट

Leave A Reply

Your email address will not be published.