Online News Portal

समरकन्दतिर विश्व नजर

128

काठमाडौँ — उज्वेकिस्तानको दोस्रो ठूलो सहर समरकन्दमा भइरहेको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को ‘२२ औं हेड अफ द काउन्सिल अफ एससीओ’को बैठक नेपालका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।

रुस, चीन, भारत, पाकिस्तान मात्रै नभएर मध्य एसियाका देशहरू सदस्य रहेको क्षेत्रीय संगठन एससीओको नेपाल पर्यवेक्षक बन्न लागेको छ । जसले नेपाललाई मध्य एशियासँग जोड्ने छ ।

‘संवाद साझेदार’ रहेको नेपालका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ण सदस्यका लागि लबिइङ गरे पनि अहिले पर्यवेक्षक बनाउन लागिएको हो । एक महिनाअघि नै एससीओका विदेशमन्त्रीको बैठकले यस विषयमा निर्णय गरे पनि ‘हेड अफ द काउन्सिल’को बैठकले अन्तिम रुपमा दिनेछ ।

साढे २ हजार वर्षदेखि निरन्तररुपमा बसोबास हुँदै आएको मध्य एशियाको यो सहर युनेस्कोले विश्व सम्पदा सूचीकृत छ । प्राचीन रेशम मार्गको महत्वपूर्ण मानिसको समरकन्दको बैठकप्रति नेपालीको जति चासो छ शक्ति राष्ट्रहरूको त्यो भन्दा धेरै गुणा बढी रहेको छ । यसका कारणहरू छन् । सम्मेलनमा जुन जमघट भयो । त्यो कैयौं हिसाबले पहिलो पटक भएका हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै ठाउँमा भेला हुँदैछन् । ८ देशका राष्ट्र वा सरकार प्रमुखहरूको सम्मेलनले अहिले वैश्विक तथा क्षेत्रीय मुद्दाहरुमा औपचारिक घोषणापत्रमा के-के भन्छन् त्यसको चासो संसारभर छैन, मुख्य चासो प्रमुख देशका शीर्ष नेताहरूबीच साइड लाइन बैठक हुन्छ कि हुँदैन ? भएमा कस्तो सहमति हुन्छ ? भन्नेमा पनि छ ।

रुसले युक्रेनमाथि आक्रमणपछि रुसी राष्ट्रपति पुटिनको पहिलो विदेश भ्रमण हो । युक्रेनमाथिको आक्रमणपछि पश्चिममा राष्ट्रहरूबाट आर्थिक नाकाबन्दीको सामना गरिरहेका पुटिनका लागि यो पश्चिमा विरोधी माहोल सिर्जना गर्न अवसर पनि हो । हालसम्म सार्वजनिक भएको तालिकामा सबैभन्दा धेरै साइडलाईन वार्ता पुटिनकै भएको देखिन्छ । पुटिनले इरान, चीन, पाकिस्तान, किर्गिजस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तानमा बिहीबार भेटे भने शुक्रबार भारत, टर्की र अरबैजानका राष्ट्रपति वा प्रधानमन्त्रीसँग पुटिनले द्वीपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरूले युक्रेनलाई रुसविरुद्धको लडाइँमा आर्थिक नाकाबन्दी मात्रै लगाएका छैनन् ठूलो परिणाममा हातियार र आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । चाँडो रुसले जित्ने अपेक्षा गरिएको युद्धमा मस्को कमजोर देखिएको छ । ६ महिना पुग्दा युक्रेनले आफ्नो भूभागभित्र रहेको शक्तिशाली रुसी सेनाविरुद्ध प्रत्याक्रमण सुरु गरेको छ र रुसको नियन्त्रणबाट भूभाग छुट्टाउने पनि सफलता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पुटिनसँग भएको भेटमा चिनियाँ राष्ट्रपति सीले युक्रेन युद्धको बारेमा चासो र चिन्ता व्यक्त गरेको छन् । चीनले युक्रेन युद्धमा रुसलाई खुला रुपमा समर्थन गरेको छैन । तर दुवैबीच सम्बन्ध विस्तार र व्यापार बढेको छ । चीनले रुसबाट ठूलो परिणाममा पेट्रोलियम पदार्थ किनेको छ । युद्ध सुरु हुनुअघिसम्म चीनले सबैभन्दा बढी पेट्रोलियम पदार्थ साउदी अरबबाट खरिद गर्ने गर्दथ्यो । पछिल्लो समयमा चीन रुसका लागि सबैभन्दा ठूलो साझेदारको रुपमा देखिएको छ । अमेरिका आफ्नै युद्धमा संलग्न भएको कारण धेरैले रुस-युक्रेन युद्धलाई चीन मात्रै निकास दिनेसक्ने बताउँदै आएका छन् ।

अर्कोतर्फ चीनलाई पनि रुसको आवश्यकता छ । सामरिक प्रतिद्वन्द्वीताको चरणमा रहेको चीन अमेरिकाबीचको सम्बन्ध पछिल्लो समयमा तनावपूर्ण रहँदै आएको छ । तत्कालीन अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध चलेको कठोर कदमलाई जो बाईडेनले पनि निरन्तरता दिँदै आएका छन् । यसैबीचमा अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले अगस्ट गरेको ताइवानको भ्रमणपछि चीनले द्वीपक्षीय सम्बन्धका कतिपय विषयलाई स्थगित गरेको छ । बेइजिङलाई आक्रोसित परेको सभामुख पेलोसीको ताइपेङ भ्रमणलाई मस्कोले निन्दा गरेको छ ।

कोभिड १९ को महामारी नियन्त्रणका लागि कठोर विधि अपनाउने ‘जिरो कोभिड’ नीति लिँदै आएको चीनका राष्ट्रपति सी कोभिडपछि पहिलो पटक विदेश भ्रमणमा छन् । अर्को चासोको विषय समरकन्दमा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्वीपक्षीय छलफल हुन्छ कि हुँदैन भन्ने रहेको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरूबीच २०२० भएको झपडमा दुवैतर्फ भएको हताहतीपछि पहिलो पटक मोदी र सी आमने सामने भएका छन् । समरकन्दमा भेला भएका नेताहरुको ग्रुप फोटोमा दुवै जना नजिकै उभिएको देखिन्छ ।

पछिल्लो समयमा भारत र चीनका सैनिक कमाण्डरहरूबीच १६ चरणको वार्तापछि दुवै पक्षमा विवादका दुई बिन्दुबाट पछि हटेका छन् । कतिपयले यसलाई सी र मोदीबीच भेट गराउन र सम्बन्ध सुधारको प्रयास भनेका छन् ।

यस्तै अवस्था २०१७ को दोक्लाम तनावको समयमा पनि देखिएको थियो। भुटान-चीनबीच सीमा विवाद रहेको दोक्लाम बिबादको समयमा भारतीय र चिनियाँ सैनिक आमने सामने थिए । बाटो बनाउन खोज्ने चीन र त्यसलाई रोक्ने भारतका सैनिकहरूबीच धक्कामुम्की चल्यो । त्यसले परमाणुअस्त्र सुसज्जित भारत र चीनबीच युद्ध नै निम्त्याउने हो कि भन्ने चिन्ता थियो । तर ७२ दिनपछि दोक्लामको यथास्थितमा कुनै पनि परिवर्तन नगर्ने सहमति भएपछि चीन र भारत त्यसक्षेत्रबाट हट्न सहमत भएका थिए । जसले भारतीय प्रधानमन्त्री मोदीलाई चीनमा हुने ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका )को सम्मेलनमा बाटो खोलेको थियो । भारतीय सञ्चार माध्यमहरूले समरकन्दमा मोदी सीबीच संक्षिप्त कुराकानी हुनसक्ने संभावनालाई भने औल्याएका छन् । मोदी सबैभन्दा ढिलो गरि समरकन्द पुगेका छन् । उनी रुसी राष्ट्रपति पुटिनसहितका विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग छलफल हुने निश्चित भएपछि सीको बारेमा केही बताइएको छैन ।

रुस र भारत दशकौंदेखि राम्रो सम्बन्ध भएको देशमा पर्छन् । भारत युक्रेनयुद्ध सुरु भएपछि रुसबाट धेरै पेट्रोलियम पदार्थ खरिद गर्न देशमा पर्छ । चीनसँगको प्रतिद्वन्द्वीताको कारण पश्चिमा राष्ट्रहरूले सम्बन्ध विस्तारका लागि प्राथमिकता दिएको भारतका लागि रुस सैन्य सामग्रीको प्रमुख स्रोतको रुपमा रहेको छ ।-इकान्तिपुर

Leave A Reply

Your email address will not be published.