Online News Portal

नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने

132

नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।

सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । बैठक बुधबारदेखि नै हुने तय भएको थियो तर उतै (भारत) बाट कार्यक्रम केही दिन स्थगित गर्न आग्रह आएपछि बैठक सारिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु भट्टले बताए ।

उनले आगामी साता बैठक बस्ने गरी तयारी भइरहेको र गृह मन्त्रालयले त्यसको मितिको बारेमा छलफल गरिरहेको बताए । गृह मन्त्रालयबाट बैठकको कार्यतालिका आइसकेपछि थप तयारीमा लाग्ने उनको भनाइ छ ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र एसएसबीबीच सूचना आदानप्रदान, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायत सीमामा हुने अन्तरदेशीय शंकास्पद गतिविधिलाई कसरी रोक्ने लगायतको विषयमा छलफल हुने उनले बताए ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको एसएसबीका प्रमुख थाओसेनले आआफ्नो टोलीको नेतृत्व गर्ने बताइएको छ । नेपाल र भारतका सीमा सुरक्षा बलबीच सन् २०१२ देखि यस्तो बैठक हुन लागेको हो । नेपाल र भारतबीच एक हजार ८१८ किलोमिटर लामो खुला सीमा छ ।
Leave A Reply

Your email address will not be published.