Online News Portal

कांग्रेसको समानुपातिक सूचिमा आफन्त र पहुँचवाला मात्रै

220

नेपाली कांग्रेसले असोज १६ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको फाईनल लिष्ट भदौ २९ गते केन्द्रीय संसदीय समितिले निर्धारण गरेको मापदण्ड विपरित रहेको खुलेको छ। नेताहरुले आफन्त र पहुँचवालालाई सूचिमा समावेश गर्न मापदण्ड मिचेको भन्दै नेता/कार्यकर्ताले असन्तुष्टि ब्यक्त गरेका छन्।

सूचि हेर्दा प्रत्यक्षबाट चुनाव जितेर मन्त्री भइसकेका, समानुपातिकमा पटकपटक अवसर पाएका तथा आफन्त र आसेपासेहरुकै बर्चस्व छ। केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्दा गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न नपाउने लगायतका विभिन्न मापदण्ड बनाएको थियो। जसमा ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरू संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार बन्न नपाउने भनिएको छ।

यसैगरी, उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पु¥याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई विशेष ध्यान दिइने ब्यवस्था गरियो।

यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिन भनिएको छ। उम्मेदवार छनोट गर्दा जातीय, लैंगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिने भनिएको छ।

तर, शेखर–गगन समूहको चेतावनीपछि तयार पारिएको बन्दसूचीमा समेत सभापति शेरबहादुर देउवानिकट प्रभावशाली नेता तथा उनीहरुका आफन्त निर्वाचित हुने सुनिश्चित गरिएको भन्दै असन्तुष्टिका स्वर सुनिन थालेका छन्।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई खस आर्य महिला कोटाको तेस्रो नम्बरमा राखिएको छ भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाणको नाम छैठौँ नम्वरमा छिन् । गृहमन्त्री खाँणकी श्रीमती ०७४ को बन्दसूचीमा पनि खसआर्य महिलाको आठौं नम्बरमा थिइन् । यद्यपि समानुपातिक संसद भने बन्न पाएकी थिइनन् ।

प्रभावशाली नेता विमलेन्द्र निधी मधेसी पुरुषतर्फ पहिलो नम्बरमा छन्। उनकी भान्जी निनु कर्ण मधेसी महिला कोटाको चौथो नम्बरमा परेकी छन् । निनु महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्छिन् । उनी निधीकी आफ्नै भान्जी हुन् । उनीहरू सबै सांसद निर्वाचित हुने सुनिश्चित जस्तै छ ।

मधेसी महिलाको पहिलो नम्बरमा नागिना यादव, दोस्रोमा मुक्ताकुमारी यादव र तेस्रो नम्बरमा चन्दा चौधरी छिन् । असोज १२ गते मात्रै लोसपाबाट कांग्रेस प्रवेश गरेकी चौधरी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी थिईन। तर कांग्रेसले समानुपातिकको बन्दसूची संशोधन गर्दा आफ्नो नाम पनि घुसाउन सफल भइन् ।

खसआर्य पुरुष कोटाको पहिलो नम्बरमा प्रवक्ता प्रकाशशरण महत छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनी ०७० मा पनि समानुपातिकबाटै सांसद भएका थिए । खासआर्य पुरुषको तेस्रो नम्बरमा रहेका आनन्द ढुंगाना पनि ०७० मै समानुपातिक सांसद भएका थिए ।

मुस्लिमबाट सह महामन्त्री फुर्मल्लाह मन्सुर पहिलो नम्बरमा र दलितबाट सह महामन्त्री जीवन परियार पहिलो नम्बरमा छन् । उनी मात्रै शेखर–गगन समूहका पहिलो नम्बरमा पर्ने एक मात्र उम्मेदवार हुन। तर, उनले ०७० मै समानुपातिक सांसद बन्ने अवसर पाएका थिए ।

आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन्। पूर्वमन्त्री समेत रहेका श्रेष्ठ ०७० मा पनि समानुपातिकबाटै सांसद भएका थिए । भारतीय गृहमन्त्री तथा बिजेपीका पूर्व अध्यक्ष अमित शाहका स्वकीय सचिव रहिसकेका सन्दीप राना आदिवासी जनजातिको तेस्रो नम्बरमा परेका छन् ।

खासआर्य पुरुषको पिछडिएको क्षेत्रमा जयपति रोकाय छन्, उनी अघिल्लो पटक पनि यही क्लस्टरमा बसेका थिए । आदिवासी जनजाति महिलाको तेस्रो नम्बरमा रहेकी सीता राना मगर ०७४ मा पनि समानुपाचिकको बन्दसूचीमा थिईन।

आदिवासी जनजाति पुरुषतर्फ रहेका गोपालसिंह राजभण्डारी, महिलातर्फ मनोरमा शेरचन, दलित महिलातर्फ आशा विक, मधेसी महिलातर्फ मिनाक्षी झा पनि २०७४ सालको समानुपातिकको बन्दसूचीमा थिए ।

खसआर्य महिलाको पहिलो नम्बरमा अम्बिका बस्नेत, दोस्रो नम्बरमा सरीता प्रसाई, तेस्रो नम्बरमा आरजु राणा र चौथो नम्बरमा ईश्वर न्यौपानेको नाम छ । उनीहरु सबै ०७० को संविधानसभामा समानुपातिक सांसद थिए ।

अनिल रुंगटा ०७० को दोस्रो संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनित सांसद थिए । थारु पुरुषको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी ०७४ मा तत्कालीन फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद थिए ।  नेपाल आज

Leave A Reply

Your email address will not be published.