एमालेसंग ठगबन्धन गरेर मधेसी शहिदको अपमान गरेको जसपालाई जनताले सबक दिनेछन् : अजय चौरसिया
वीरगन्ज,०१ मंसिर
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेर जसपाले मधेस आन्दोलन र मधेसी शहिदहरुको अपमान गरेको बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा बुधबार राति आयोजित रात्री सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चौरसियाले भने, जुन एमालेले मधेस आन्दोलनलाई माखे साङ्लो भन्यो, मधेसी सपुतहरु मारिदा दुई चार वटा आँप झरेर केही फरक पर्दैन भनेर खिसि ट्युरी गर्यो त्यहि एमालेसंग अहिले चुनावमा गठबन्धन गरेर जसपाले मधेस आन्दोलन र मधेसी शहिदहरुको बलिदानी र त्यागको अपमान गरेको छ ।
उनले मधेसी शहिदका परिवारलाई ५० लाख रुपैया दिने भाषण गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले भैंसी दिएर झारा टारेको आरोप पनि लगाए । उनले भने, अहिले जसपाका उम्मेदवार भोट माग्न जनता बिच आइरहेका छन् , उनिसंग जनताले मधेसी शहिदका परिवारलाई ५० लाख खोइ ? भनेर प्रश्न गर्नु पर्छ ? मधेस र मधेसीलाई सधै हेप्ने एमालेसंग अहिले गठबन्धन किन गर्नु पर्यो ? भनेर सोध्नु पर्छ । चौरसियाले सत्ता स्वार्थका लागि पटक पटक मधेस विरोधी एमालेलाई साथ दिने जसपालाई यसपालिको चुनावमा मधेसी जनताले सबक दिने जिकिर पनि गरे ।
पर्सा २ मा अहिले जसपाबाट उम्मेदवार बनेका र आफुलाई विद्वान भन्दै हिडेका व्याक्तिका बारेमा जनता जानकार रहेको भन्दै चौरसियाले भने, उनी आफुलाई विद्वान भन्दै भ्रम छर्दै हिडेका छन्, उनी विद्ववान भन्ने व्याक्तिसंग हरेक विषयमा म खुल्ला बहश गर्न तयार छु , यो मेरो चुनौती हो । आफू प्लटिङको धन्दा गर्ने व्यपारी नभएको भन्दै उनले भने, म जनसेवक हु, चुनाव जिते पनि हारे पनि जनताको बिचमा रहेर जनताको सेवा गर्दै आएको छु, यस क्षेत्रका सारा जनतालाई थाहा छ ।
आफू दुई पटक सांसद र एक पटक मन्त्री बन्दाका समय हरेक गाउँ गाउँमा पक्की सडक, नाला , पुल, धर्मशाला , विधालय भवन बनाएका कारण नै अहिले पनि आफू प्रति जनलहर बढेको देखेर जसपाका उम्मेदवारले अत्तालिएर गाली गलौजमा उत्रिएको भन्दै चौरसियाले भने , तर त्यस्ता गाली गलौजले मलाई केही फरक पर्दैन , बरु अनुरोध गर्छु फोहोरी राजनीति नगर्नुस् यदि मैले बोल्न थाले भने तपाईका धेरै पोल खुल्नेछ, तर म त्यो अवस्था नआओस् भन्ने नै चाहन्छु । उनले अबको चुनावबाट फेरि केन्द्रमा र मधेस प्रदेशमा पनि काँग्रेस नेतृत्वकै सरकार बन्ने ठोकुवा पनि गरे ।
त्यस कारण जसपाले दुई चार सिट जित्दैमा त्यसले न त मधेस न त देशका लागि केही गर्न सक्ने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मत दिई विजयी गराउन चौरसियाले आग्रह गरे । उनले राणा, पन्चायत र राजालाई फाल्ने काँग्रेसका नेता कार्यकर्ता र जनता जनार्दनलाई नधम्क्याउन जसपा र एमालेलाई चेतावनी पनि दिए । रात्री सभालाई पर्सा २ (ख) का प्रदेशसभा सदस्य उम्मेद्वार रमेश कुर्मीले पनि सम्बोधन गरेका थिए ।