Online News Portal

नयाँ दल खोल्ने तयारीमा प्रभु साह

321

रौतहट, ११ मंसिर / नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले आफ्ना प्रतिद्वन्द्वी लाई भारी मतान्तरले हराउन सफल भएका छन् । यस पटकको निर्वाचनमा रौतहट ३ मा गठबन्धनको गन्जागोल परिस्थिति देखा परेको थियो । स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह विरुद्ध सबै पार्टीहरु एक ठाउँमा उभिएका थिए ।

मनोनयन दर्ता गर्दा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका धिरज पटेल आधिकारिक उम्मेदवारको रुपमा चुनावी मैदानमा आएका थिए । तर केन्द्रिय सत्ता गठबन्धनले माओवादीका उम्मेदवारलाई पटेलको उम्मेदवारी निष्क्रिय पार्दै साहलाई आफ्नो आधिकारिक उम्मेदवारको रुपमा घोषणा ग¥यो । तर केन्द्रको यो निर्णय जिल्लामा लागू भएन । नत पटेलले आफ्नो उम्मेदवारी निष्क्रिय गराए, नत सत्ता गठबन्धनका अरु घटकहरुले साहलाई समर्थन गरे । पटेल आफ्नो उम्मेदवारी कायम राखेर चुनावी अभियानमा लागिरहँदा नेपाली कांग्रेस , एकीकृत समाजवादीले भनेर खुलेरै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई समर्थन गरे ।
नेपाली कांग्रेसका तर्फबाट प्रदेश ३ (२) मा उम्मेदवार बनेका सुनिल यादव र एकीकृत समाजवादीको तर्फबाट प्रदेश ३ (१) मा उम्मेदवार बनेका नागेन्द्र यादवले जयसवालसँगै घरदैलो गरेका थिए । सँगसँगै नेकपा एमाले र जसपा गठबन्धनले पनि साहलाई हराउन जयसवाललाई समर्थन गर्ने निर्णय गरेर प्रचारमा हिडेका थिए । यसरी सबै दलहरु एक ठाउँमा उभिदाँ साहले हार्ने अनुमान गरिएको थियो । तर परिणाम भने अनुमान विपरित आयो । आफूविरुद्ध बनेको महागठन्धनको घेरालाई तोड्दै साह ३२ हजार ४ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्दी अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २०० मत ल्याएका थिए । साह ७ हजार २३७ मतको फराकिलो अन्तरले साहले विजयी भएका छन् ।
संसदीय निर्वाचनमा यो साहको चौथो जित हो । साह २०६४, २०७०, २०७४ र २०७९ गरी लगातार चारपटक विजेता बनेका छन् । एमाले – जसपा गठबन्धनबाट असंतुष्टि जनाउँदै स्वतन्त्र बन्दै चुनाव जितेका साह अब सबै स्वतन्त्रहरु समेटेर पार्टी बनाउने तयारीमा जुटेका छन् । साहले आफुले जनताको अपार मायाले महागठन्धनको घेरा तोड्न सफल भएको जनाउँदै अब सबै स्वतन्त्रहरुलाई एक ठाउँमा ल्याएर नयाँ पार्टी खोल्ने बताए । उनले पार्टीबाट असंतुष्ट भएर उम्मेदवारी दिएकाहरु मध्ये प्रतिनिधी सभामा ३ जना र प्रदेश सभामा ६ जना हालसम्म विजयी भएकाले सबैलाई ऐक्यवद्ध गर्दै नयाँ दल खोल्ने जनाए ।
‘रौतहटबाट किरण साह, सलार्हीबाट अमरेश सिंह हामी सबै एउटै टिमबाट चुनाव लडेका हौं’ उनको दावी थियो, ‘अब हामी एकै ठाउँ उभिएर नयाँ दल खोलेर अगाडि बढ्छौं । त्यसको तयारीमा हामी लागेका छौं ।’ उनले आफुले खोल्न लागेको दल कस्तो हुने र उदेश्य के हुने भन्ने बारेमा तत्काल केहीं खोल्न चाहेनन्.

Leave A Reply

Your email address will not be published.